डोटी- हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ। शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।
सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि आज बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा शुक्रबार रातिदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी पोष्ट बुडर डोटीले जनाएको छ। डडेल्धुराअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँ खर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिए।
त्यस्तै हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा, बैतडी जोड्ने दशरथ चन्द राजमार्ग पनि सञ्चालन भएको छ। हिमपातका कारण उक्त राजमार्गमा रोकिएका सवारी साधन तथा यात्रुहरु राजमार्ग सञ्चालन भएपछि अहिले आफ्नो गन्तव्यतिर लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।