डडेल्धुरा- हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध हुदाँ सयौं यात्रु अलपत्र परेका छन्। डडेल्धुरामा बिहीबार रातिदेखि परेकाे हिमपातले अवरुद्ध भएकाे सडक सुचारु हुन सकेको छैन।
डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा हिमपातका कारण बिहीबार राति करिब १० बजेदेखि यातायात अवरुद्ध भएकाे जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। हिमपातले बस चल्न नसकेपछि रातभरी बसभित्रै बस्नु परेकाे दार्चुलादेखि महेन्द्रनगर जान लागेका यात्रु खडकसिंह भाटले बताए। उनले भने, ‘रातभर चिसो भयो। अहिले पनि बाटो खुल्न सकेको छौ।’
जिल्ला सदरमुकामलगायत सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ। डडेल्धुराको अनराखोली बजार र बैतडीको, खोडपेबजार क्षेत्रमा तीन फिटसम्म रहेकाे हिउँ जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइएको छ। भीमदत्त राजमार्गमा ४ वटा डोजर हिउँ सफा गर्नका लागि प्रयोग गरिएको र बाटो खुलाउन अझैँ समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।
.JPG)
राति ११ बजेसम्म काम गरेको र अहिले पनि बिहान ४ बजेबाट नै डोजरले सफा गररे एकतर्फी बाटो खुलाउन प्रयास भइरहेका उनले बताए। गाडीहरु नालिमा खसेका समस्या भइरहेको बताइएकाे छ।
दशरथचन्द राजमार्गअन्तर्गत अनारखोली क्षेत्रमा बाटो सुचारु गर्नका लागि अमरगढी नगरपालिकाले आफ्नै डोजर परिचालन गरेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए। अनारखोली बजार क्षेत्रमा बाटो सुचारु भएपनि जिल्लाको हगुल्डेलेकमा अहिले पनि बाटो सुचारु गर्ने प्रयोस भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अवरुद्ध सडक सुचारु गर्न स्थानीय तहका डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा प्रमुख जिल्ला अधिकारी पौडेल आफैं खटिएका छन्।
फोन र विद्युत् सेवा पनि अवरुद्ध
हिमपातले डडेल्धुरामा नेपाल टेलिकमको फोन, इन्टरनेट सेवा र विद्युत् सेवासमेत अवरुद्ध छ। यस्तै जिल्ला सदरमुकामका विद्यालयमा संचालित अर्धवार्षिक परिक्षासमेत प्रभावित भएको छ। हिमपातका कारण चिसो बढेकाले बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।
किसान खुसी
हिमपातले किसान हर्षीत भएका छन्। हिउँदे वर्षासँगै हिमपातले बालीनाली सप्रने भएकाले किसान खुसी भएका हुन्। वर्षा र हिमपातले हिउँदेबाली र हिउँदे तरकारीमा फाइदा पुगेको छ। सिंचाइ नभएका क्षेत्रमा यसले सिँचाइको काम गरेको छ।
.JPG)
वर्षा र हिमपातले हिउँदेबाली सप्रने कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए। वर्षा र हिमपातले सिँचाइको काम गरेकाले हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशा किसानकाे छ।
दिपायलमा सबैभन्दा धेरै वर्षा
मौसम पूर्वानुमान महाशाखालको विवरणअनुसार पछिल्लो २४ घन्टामा दिपायलमा सबैभन्दा धेरै वर्षा भएको छ। यहाँ ६४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
त्यस्तै, डडेल्धुरामा २७ मिलिमिटर सुर्खेतमा २४.६ मिलिमिटर धनगडीमा १२.७ मिलिमिटर दाङमा १८.४ मिलिमिटर पानी परेको छ। २४ घन्टामा सबैभन्दा कम पानी जुम्लामा १ मिलिमिटर पानी परेको छ।
महाशाखाको विवरणअनुसार डडेल्धुरामा माइनस १.५ डिग्री सेल्सियस तापक्रम रहेको छ भने जुम्लाको तापक्रम ०.४ डिग्रि सेल्सियस रहेको छ।
प्रहरीद्वारा दाउरा वितरण
चिसो बढेसंगै जिल्ला प्रहरी कार्यालय बैतडीले ठाउँठाउँमा दाउरा वितरण गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका २५ ठाउँमा दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र स्थानीय तहसंगको सहकार्यमा २५ टेक्टर दाउरा वितरण गरेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।