काठमाडौं- नेपाली सिनेमामा एक समय चम्किएका अभिनेता हुन् विराज भट्ट। पछिल्लो समय उनी भोजपुरी सिनेमामा जम्न पुगे। भोजपुरी फिल्ममा चम्किए पनि यता लगातार असफलता खेपिरहे।
अहिले उनै विराज अभिनेता मात्र हैन फिल्म 'साङ्लो'मार्फत् पहिलो पटक निर्देशकको रुपमा नेपाली सिनेमामा देखापरेका छन्।
शुक्रबार 'साङ्लो'को ट्रेलर रिलिजको क्रममा विराजले आफूलाई 'बाघ'को संज्ञा दिए। 'बाघ जंगलबाहिर कतै जाँदैन। जंगल परिवर्तन भएको थियो। ठूलो जंगलमा गएको थियो, उनले भने, 'त्यहाँ पनि लखेट्यो। यताको जंगलमा फेरि आइसक्यो।'
यसपालि निर्देशकको रुपमा नयाँ अनुभवसमेत संगालेका विराजले नयाँ सिनेमा दिने प्रयास गरेको बताए। फिल्ममा प्रमुख पात्रको भूमिका पनि उनी स्वयम्ले निर्वाह गरेका छन्। अभिनेता र निर्देशकको दुवै जिम्मेवारीले प्रेसर फिल गरेपनि फिल्म हेर्दा भने निकै राम्रो भएको उनले बताए।
विराज र निकिताको जोडी
यही फिल्मबाट पहिलोपल्ट अभिनयमा पाइला चाल्दैछिन्, सन् २०१७ की मिस नेपाल निकिता चान्डक। पूर्व मिस नेपाल निकिता विराजको जोडीको रुपमा लिड क्यारेक्टरमा छिन्। आफूले डेब्यू गरेको पहिलो फिल्मको अनुभवनै सबैभन्दा राम्रो भएको बताउँछिन्। 'यो भन्दा राम्रो डेब्यू मेरो हुन सक्दैन थियो। विराज दाइबाट जति सिकेँ त्यो एकदमै सिकेँ। नयाँ कुनै प्रोजेक्टमा यो प्रोजेक्टबाट धेरै अनुभव लिएर जान्छु,' निकिताले भनिन्।
स्टेजमा केही नर्भस अनुहारमा देखिएकी निकितालाई प्रश्न आयो, 'विराज र तपाईंको उमेर ग्यापिङले असर गर्दैन?'
तर उनले उमेर ग्याप भए पनि विराजसँग काम गर्दा त्यस्तो असर नभएको बताइन्। 'सुरुमा त मैले स्क्रिप्ट पढेपछि फिल्ममा काम गर भन्दा नाइँ भनेँ। तर कुरा गर्दै जाँदा उहाँसँग मेरो थर्ट मिल्छ भन्ने लाग्यो,' उनले भनिन्।
फिल्ममा कलाकार कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी र भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई शिवम अधिकारीले लेखेका छन् भने तेज बहादुर खड्काको लगानी रहेको छ।
हेर्नुस् ट्रेलरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।