काठमाडौं- गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट 'नेपाल भ्रमण वर्ष २०२०' को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो।
गायक सपूतका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए।
गायक सपूतले आफ्नो र समग्र नेपाली सांगीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्यांकन गरेको धारणा राखे।
भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए।
सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत चर्चित छन्। केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ।
डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।