काठमाडौं– सरुवा भएको दुई सातापछि जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्।
एसपी मल्ले रवाना लिएको पुष्टि गर्दै प्रदेश ३ का डिआइजी शेरबहादुर बस्नेतले नेपाल लाइभसँग भने, ‘रवाना लिएको भन्ने मौखिक जानकारी आइसकेको छ। पत्र केही समयपछि आउला।’
सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न भन्दै प्रदेश ३ प्रहरी कार्यालयले निर्देशन दिएको थियो।
प्रहरी प्रधान कार्यालयले दुई साताअघि एसपी मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा सरुवा गरेको थियो। तर, मल्ल भने सरुवाबारे आफूलाई जानकारी नै नभएको भन्दै चितवनमै रहेका थिए।
मल्लको ठाउँमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरुवा गरेको थियो। मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व पिएसओसमेत हन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।