सुर्खेत- कर्णाली प्रदेशको सुर्खेतमा खाेपानीको आपूर्ति बढाउने उद्देश्यले दुईवटा आयोजनाको काम हुँदै छ। सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पुर्याउने उद्देश्यले आयोजनाको काम अघि बढेको हाे।
गुर्भाकोट नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का जनतालाई खानेपानी पुर्याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ गरेर आयोजना अघि बढाइएको हो। सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम अघि बढिरहेको आयोजना प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए।
उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत पुगेका थिए। गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले बताए।
६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ। भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले बताए। यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।
.jpg)
त्यस्तै सुर्खेत उपत्यका बृहत खानेपानी आयोजना अन्तर्गत मुहान बनाएर पानीको मात्रा परीक्षण गर्ने काम सुरु हुँदैछ। सुर्खेत उपत्यकाका करिब २ लाख जनसंख्यालाई पानी पुर्याउने उद्देश्यले आयोजनाको काम अघि बढाउन लागिएको हो। खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ।
मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकांक्षी योजनासहित मन्त्रालयले काम अघि बढाएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।