डडेल्धुरा-मौसममा बदली भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका उच्च पहाडी क्षेत्रमा फेरि हिमपात सुरु भएको छ। बैतडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार हिमपात भएको हो।
हिमपातका कारण बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको सिगास गाउँपालिका २ का मोहन ऐरीले बताएका छन्।
यस्तै, बझाङको साईपाल गाउँपालिकाका विभिन्न स्थानमा हिमपात हुँदा स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको छ।
पशु चौपायासमेत गोठमै थुनिएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जानसक्ने अवस्थासमेत नरहेको स्थानीयले बताएका छन्। लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्र रहेका दुईवटा मावि, एउटा निमावि, दुईवटा प्रावि र तीन वटा शिशु गरी आठवटा विद्यालय बन्द गर्नुपर्ने भएको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए।
सुर्मा, छविसपाथिभेरा, खप्तड छान्ना, गाँउपालिकाका केही ग्रामीण बस्तीमा पनि निरन्तर हिमपात भइरहेको स्थानीय बताएका छन्।
हगुल्डेलेकमा हिमपात
डडेल्धुराको गन्याधुरा गाउँपालिकामा पर्ने हगुल्डेलेकमा पनि हिमपात सुरु भएको छ भने अजयमेरु गाउँपालिकाको १ वडामा पर्ने अनाराखोली बजारमा पनि हिमपात सुरु भएको व्यापारी तर्कराज भट्टले बताएका छन्। केही दिन यस्तै मौसम रहे यस क्षेत्रका पनि बिद्यालय बन्द हुने सक्ने विद्यालयहरुले जनाएका छन्।
हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।