एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन विधेयकमाथि देशभरबाट भइरहेको आन्दोलनको बचाउ गर्दै पाकिस्तानविरुद्ध नारा लगाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री मोदीले संसदले पारित गरेको कानुनको विरोधमा सडकमा उत्रनुभन्दा पाकिस्तानको विरोधमा उत्रन कांग्रेसलगायत विपक्ष दललाई आग्रह गरेका हुन्। उनले विपक्षीलगायतले निर्माण गरेको संयन्त्र भारतको संसदविरुद्ध भएको पनि दाबी गरे।
बिहीबार कर्नाटकको टुमकुरमा सिद्धगंगा मठको उद्घाटन गर्दै मोदीले नागरिकता कानुनविरुद्ध आन्दोलन गर्नुभन्दा पाकिस्तानविरुद्ध गर्न सुझाव दिएका हुन्।
‘जो मानिसहरु भारतको संसदविरुद्ध आन्दोलन गरिरहेका छन् म उनीहरुलाई भन्न चाहान्छु कि हामीलाई अन्तराष्ट्रिय स्तरमा लड्नका लागि पाकिस्तानविरुद्ध आन्दोलन गर्नुस्‚’ मोदीले भने‚ ‘पछिल्लो ७० वर्षमा उसले दिएको दुःखका बारेमा आन्दोलन गर्नुस्।’
उनले पाकिस्तानमा अल्पसंख्यक हिन्दुहरुमाथि अत्याचार भइरहेकाले त्यसविरुद्ध नारा लगाउन मोदीले आग्रह गरे।
जुलुस नै निकाले पनि पाकिस्तानबाट ज्यान बचाउन हिन्दुस्तान छिरेका अल्पसंख्यक हिन्दुहरुको सर्मथनमा निकाल्न आग्रह गरे। उनले पाकिस्तानमा हिन्दुहरूको अल्पसंख्यालाई उनीहरुको भाग्यको भरमा आफू छोड्न नसक्ने भन्दै उनीहरुको रक्षा गर्नु आफ्नो जिम्मेवारी भएको दाबी गरे। उनले जम्मु कश्मीरको संविधानमा दिएको विशेषाधिकार खारेज गर्ने निर्णयको पनि बचाउ गरे। उनले आतंकवादी गतिविधि अन्त्य गर्दै विकासको युगका लागि जम्मु कश्मीरको धारा ३७० खारेज गरेको दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।