राजविराज– पुस पहिलो सातादेखि सुरु भएको शीतलहरका कारण सप्तरी, सिरहा, धनुषा, सुनसरीलगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ।
रातिदेखि नै सुरु हुने बाक्लो हुस्सु र सिरेटोका कारण सर्वसाधारण पीडित छन्। मुलुकमै सबैभन्दा बढी दलितको बसोबास रहेको सप्तरीमा यो समुदाय अधिकांश विपन्न र भुमिहीन छन्। तिनै परिवार शीतलहरका कारण बढी प्रभावित छन्।
जिल्लामा करिब ३६ हजार भूमिहीन र सकुम्बासी रहेको अनुमान छ। सडक किनार तथा ऐलानी पर्ति जग्गामा झुप्रो बारेर ज्याला मजदूरी गरी गुजारा गर्दै आएका अधिकांशको आर्थिक अवस्था जर्जर रहेको सुकुम्बासी तथा भूमिहीनको अधिकारका लागि काम गर्ने अभियन्ताहरू बताउँछन् ।
उनीहरूका अनुसार अधिकांश भूमिहीन, सुकुम्बासी, दलित र विपन्न समुदायका व्यक्ति नै चिसोबाट बढी प्रभावित भएका छन्। जसमा बालबालिका, वृद्ध र बिरामी बढी समस्यामा छन्। दलितमध्ये पनि मुसहर, बाँतर र डोम समुदाय चिसोको चपेटामा परेका छन्। गतिलो झुप्रो बनाउने सामथ्र्यसमेत नहुँदा कतिपयले कष्टकर जीवन निर्वाह गरिरहेका छन्।
.jpg)
निरन्तरको शीतलहरले भूमिहीन, सुकुम्बासी, दलित र विपन्न समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। अस्पतालमा बिरामीको संख्या थपिने क्रम जारी छ। निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढ्न थालेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
विद्यालयमा विद्यार्थी घटे
अधिकांश विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको छ। निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा शीतलहरको बढी असर छ। सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडाको अभावमा विद्यालय जानै छाड्ने गरेको शिक्षकहरु बताउँछन्। ४/५ सय विद्यार्थी भर्ना भएका विद्यालयमा मुस्किलले ५०/६० विद्यार्थी उपस्थित हुने गरेका छन्। चिसोले बिरामी पर्न सक्ने सम्भावना बढेपछि अभिभावकले नै बालबालिकालाई घरमै राख्ने गरेको शिक्षकहरूको भनाइ छ।
.jpg)
चिसोका कारण बालबालिका प्रभावित हुन थालेपछि जिल्लाको वलानविहुल गाउँपालिकाले आईतबार (पुस १३ गते) देखि तीन दिनका लागि विद्यालय बन्द गरेको छ।
यसअघि छिन्नमस्ता गाउँपालिका १९ वटा सामुदायिक विद्यालय चारदिन, रुपनी गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालय तीन दिन, राजविराज नगरपालिकाका ४२ वटा सामुदायिक विद्यालय तीन दिन, तिलाठी कोइलाडी गाउँपालिकाका १७ सामुदायिक विद्यालय चार दिन र सप्तकोशी नगरपालिकाका ११ वटा सामुदायिक विद्यालय पुस ३ गतेदेखि ५ दिन वन्द भएका थिए ।
के गर्दैछन् स्थानीय सरकार र सरोकारवाला निकाय?
सप्तरीमा शीतलहरका कारण हरेक वर्ष धेरै सर्वसाधारणले ज्यान गुमाउँने गरेका छन्। गतवर्ष शीतलहर नचलेका कारण सर्वसाधारणले राहत महसुस गरे पनि त्यसअघिका हरेक वर्ष दर्जनौं व्यक्तिले ज्यान गुमाउनु परेको थियो।

यसै अवस्थालाई मध्यनजर गरी यस वर्ष सप्तरीका ९ नगरपालिकासहित १८ वटै स्थानीय तह र अन्य सरोकारवाला निकाय पनि चनाखो देखिएका छन्। हरेक स्थानीय तहले सार्वजनिक स्थल र चोकमा आगो ताप्ने व्यवस्था मिलाएका छन् ।
कञ्चनरुप नगरपालिकाले आगो ताप्न दाउरा वितरण गर्नुका साथै बालबालिका र वृद्धवृद्धाका लागि विशेष कार्यक्रम सुरु गरेको छ। बालविकासमा अध्ययन गर्ने बालबालिका र वृद्धवृद्धा/असक्तलाई न्यानो कपडा र कम्बल वितरण गर्न लागिएको छ। ‘वडागत तथ्यांक संकलन भईरहेको छ’, मेयर वसन्त मिश्रले भने, ‘एक–दुई दिनभित्रै वितरण हुनेछ।’ यसैगरी स्वास्थ्यकमीलाई चिसो प्रभावित नागरिकको उपचारमा विशेष ध्यान दिन निर्देशन गरिएको उनले जानकारी दिए।
तिलाठी कोईलाडी गाउँपालिकाले प्रत्येक स्कुललाई पत्राचार गरी प्रार्थना (एसेम्ब्ली) का क्रममा शीतलहरबाट बँच्ने उपायका बारेमा जानकारी दिने निर्देशन दिएको छ भने सञ्चार माध्यममा जानकारीमुलक सामग्री प्रचारप्रसार गराईएको गाउँपालिका विपद जोखिम कार्यक्रम अधिकृत राजेश झाले बताए।
यसैगरी, अति विपन्न, एकल महिला, ७५ वर्ष उमेर नाघेका वृद्धवद्धा, अति अशक्त र अपांगलाई कम्बल/सिरक वितरणको तयारी भईरहेको छ। करिब ३ सिरक÷कम्बल तयारी अवस्थामा राखिएको र तथ्यांकका आधारमा घरमै पुगेर वितरण गरिने उनले बताए। पशुपंक्षी तथा मानवीय स्वास्थ्य समस्या देखिए तत्काल प्रयोग गर्न सकिने गरी औषधिसहितको स्वास्थ्यकर्मी टोली तैनाथ गरिएको झाले जानकारी दिए।

यसैगरी, शम्भुनाथ नगरपालिका, वलान विहुल गाउँपालिकालगायत अधिकांश स्थानीय तहले दाउरा वितरणलाई प्रमुख प्राथमिकता दिएका छन्। अन्य केही स्थानीय तहले न्यानो कपडा, कम्बल÷सिरक वितरणलाई पनि प्राथमिकता दिएका छन्।
यसबाहेक हरेक स्थानीय तहमा ५ देखि ५० लाख रुपैयाँसम्मको विपद ब्यवस्थापन कोष खडा गरिएको छ। हरेक गाउँ÷नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी प्रत्येकले कोष स्थापना गरेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि दाउरा वितरण तथा आगो ताप्ने ब्यवस्था मिलाएका छन्। नेपाल प्रहरीले पुस पहिलो सातादेखि १३ गतेसम्म ५ सय १० स्थानमा आगो बालेर सर्वसाधारणलाई राहत दिएको एसपी कृष्ण प्रसाइँले बताए।
जिल्ला प्रशासन कार्यालय सप्तरीले गत पुस ४ गते नै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ६ नम्बर गण, डिभिजन वन कार्यालयलगायतलाई पत्राचार गरी तयारी अवस्थामा बस्न र आवश्यक कार्य गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सुनील खनालले बताए।
विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराउन वा व्यवस्थापन गर्न, आगो ताप्ने व्यवस्था मिलाउन, स्वास्थ्य सेवाको टिम स्ट्यान्डवाई अवस्थामा राख्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिकालाई विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न र स्रोतसाधन अपर्याप्त भए तत्काल जिल्ला प्रशासन कार्यालयमा समन्वय गर्न पत्रमा लेखिएको छ ।
स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग करिब साढे ३ सय कम्बल र सिरक स्टकमा रहेकाले अति नै समस्या परे तत्काल समाधानको व्यवस्था मिलाएर राखिएको खनालको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।