काठमाडौ- उखु किसानले उखुको मूल्य नपाएको विषय राष्ट्रियसभामा पनि उठेको छ। राष्ट्रियसभा सदस्यहरुले सोमबारको बैठकमा उखु किसानको विषयमा कुरा उठाउँदै सरकारको ध्यानाकर्षण गराए। सत्तारुढ दल नेकपाकै सांसद कोमल वलीले किसानको माग सम्बोधन गर्न माग गरिन्। उनले किसानले उखुको मूल्य नपाउनु अन्यायपूर्ण भएको भन्दै तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरिन्।
‘सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने भनेको छ,’ उनले भनिन्, ‘निजी क्षेत्रले सरकारलाई सहयोग गरेर देश विकासमा लाग्नुपर्नेमा उल्टै किसानको उत्पादनलाई भुक्तानी नदिएर दुःख दिन त मिलेन नि, यो जतिको अन्यायपूर्ण कुरा के होला? तुरुन्त सरकारले पहल गरोस्।’
त्यस्तै आफैंले खेतमा उब्जनी गरेको उखुको मूल्य पाउन किसानहरु काठमाडौंमा सरकारसँग विलौना गर्न आएको भन्दै समाजवादी पार्टीका सांसद रामप्रित पासवानले किसानको माग सम्बोधन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराए। किसानहरुको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले बताए । किसानको माग अविलम्ब पूरा गर्न पनि उनले सरकारसँग माग गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।