राजविराज- सप्तरी प्रहरीले आर्थिक वर्ष ०७६/०७७ को पाँच महिनामा दर्ता भएका ३ सय ५७ मुद्दामध्ये २ सय ५० वटा फर्स्योट गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको सार्वजनिक सम्वाद कार्यक्रममा यस्तो जानकारी दिएको हो। दर्ता भएकामध्ये १ सय ७ वटा मुद्दा फर्स्योटका क्रममा रहेको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए।
यसअवधिमा ३६ महिला, ३३ बालिका, २ बालक र १ पुरुष हराएकोमा १६ जनाको उद्धार गरिसकिएको प्रहरीले जनाएको छ। यस्तै, विभिन्न नाकाबाट भन्सार छली भित्र्याइएका ५९ लाख २० हजार ४ सय २५ रुपैयाँ बराबरको मालसमान जफत गरी भन्सार कार्यालय बुझाइएको छ।
अवैध कारोबारमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको कार्यक्रममा जानकारी गराइएको छ। तथ्यांकअनुसार अदालतको फैसला कार्यान्वयन गराउने सन्दर्भमा विभिन्न मुद्दाका फरार ६ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी २३ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रमुख जिल्ला अधिकारी सुनील खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ९ नगरपालिकासहित १८ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख र सरोकारवालालाई उपस्थित गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।