काठमाडौं- लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ। विधेयक सर्वसम्मत रुपमा पारित गरिएको हो।
यद्यपि, विधेयकको एउटा उपदफालाई अन्तिम रुप दिन भने बाँकी रहेको समिति सभापति शशि श्रेष्ठले बताइन्।
लामो समयदेखि समितिमा छलफलमा रहेको सो विधेयकको दफा ३ (४) का सम्बन्धमा सदस्यबीच अन्तिमसम्म फरकफरक धारणा थियो। ‘विधेयकमा रहेको सो व्यवस्थालाई अहिले जस्ताको तस्तै पारित गरिएको छ,’ श्रेष्ठले भनिन्, ‘पछि उपयुक्त र राम्रो विकल्प आएमा सोही अनुसार परिवर्तन गरिने छ।’
विधेयकको दफा ३ मा लोक सेवा आयोगको कार्यालयका सम्बन्धमा व्यवस्था गरिएको छ। दफा ३ को उपदफा ४ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका आयोगको कार्यालयहरु अर्को व्यवस्था नभएसम्म यथावत रहनेछन्।’
विधेयकमाथिको अन्तिम छलफलमा आयोगको आर्थिक स्वायत्तताका विषयमा पनि सांसदबीच फरक फरक धारणा थियो। अन्तिमा भने परीक्षा सञ्चालनका लागि केही खुकुलो व्यवस्था राख्दै विधेयक पारित गरिएको छ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको विविध शीर्षक अन्तर्गतको रकमको खर्च नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा आयोगले बनाएको कार्यविधिको आधारमा गर्नु पर्नेछ। तर परीक्षा सञ्चालनसम्बन्धी कुनै आकस्मिक कार्यका लागि रकम खर्च गर्नुपर्ने भएका आयोगको निर्णय बमोजिम खर्च गर्न सकिने छ,’ पारित प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।