इस्तानाबुल– टर्किस लिगअन्तर्गत शनिवार राती फेनरबासे र बेसिकाट्सबीच भएको खेल युद्ध मैदानमा परिणत भएको छ। फेनरबासेले २–१ ले जितेको यो खेलमा ५ खेलाडीले रातो कार्ड पाए।
घरेलु मैदानमा खेलिएको खेलमा गिउलियानो र टोटेनहमबाट ऋण सम्झौतामा आएका भिन्सेन्ट जान्सेनको गोलको सहयोगले फेनरबासे विजयी भयो। बेसिकाट्सका लागि लिभरपुलका पूर्व स्ट्राइकर रायन बाबेलले गोल गरे।
बेसिकाट्सका रिकार्डो क्युरेसमा ४३ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छोड्ने पहिलो खेलाडी बने। यसपछि ४५ मिनेटमा फेनरबासेका लुइस नेटोले रातो कार्ड खाएपछि पहिलो हाफको खेलमा दुवै तर्फ १०–१० खेलाडी भएका थिए।
भ्रमणकारी टोलीका आटिबा हुट्चिनसनले ८५ मिनेटमा अर्को रातो कार्ड पाए। उनलाई पनि दुईवटा पहेँलो कार्ड देखाइएको थियो। यसको तीन मिनेट भित्रै ८८ मिनेटमा फेनरबासेका इस्माइल कोएबासीले रातो कार्ड पाए। इन्जुरी समयको ९६ मिनेटमा बेसिकाट्सका ओगुहान ओजाकुपले दुईवटा पहेँलो कार्ड पाएपछि भ्रमणकारी टोली खेल सकिँदा ८ खेलाडीमा सिमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।