सांकेतिक तस्बिर
काठमाडौं- ‘म काठमाडौंको एक रोधी घरमा काम गर्छु। ज्यादै जोखिम मोलेर काम गर्न बाध्य छु, यसरी काममा खटिँदा पनि न्यूनतम पारिश्रमिक पाएको छैन,’ सिन्धुपाल्चोककी अमृता तामाङ (नाम परिवर्तन) ले एकै सासमा सुनाइन्।
उनले रात्रिकालीन व्यवसायमा काम गरेको डेढ वर्ष भयो।
त्यहाँ आउने ग्राहकसँग जिस्कन पनि उनी तयार हुनुपर्छ। ग्राहकलाई जसरी हुन्छ भरपुर मनोरञ्जन दिनु पर्छ। साहुले भनेजस्तो मेकअप भएन भने त कामबाट निकाल्ने धम्की आउँछ।
‘ग्राहकसँग बसेर जुस खानुपर्छ। सुरुमा त कति गाह्रो भएको थियो। नखाए जागिर गइहाल्छ अहिले त सँगै बसेर खान्छु’ अमृताले भनिन्।
रोधी घरमा काम गर्ने प्राय युवती नै हुन्छन्। उनीहरूले मालिकले भनेअनुसार शरीर देखिने गरी कपडा लगाउनु पर्छ।
‘पुस-माघको जाडो पनि न ज्याकेट लगाउन पाइन्छ न गलबन्दी ओड्न, लुगलुग काँप्दै शरीर देखिने कपडा लगाउनु पर्छ,’ उनी भन्छिन् ‘के गर्नु सुरुदेखि नै यही पेशा अँगालियो। अरु केही काम पाइएन।’ उनी रहरले होइन बाध्यताले यो क्षेत्रमा लागिन्। भन्छिन्, ‘यो क्षेत्रमा दुःख पाउने ममात्र होइन मजस्तै थुप्रै दिदीबहिनी हुनुहुन्छ।’
कामको सिलसिलामा काठमाडौं आएकी अमृता कसरी रात्रिकालीन सेवामा आबद्ध हुन बाध्य भइन् उनले आफ्नो कथा हामीसँग साटेकी छन्।
गाउँबाट भर्खर काठमाडौं आएकी अमृता कामको खोजीमा धेरै भौतारिइन्। यही क्रममा धेरै समय बित्दा पनि उनले भनेजस्तो केही काम पाइनन्।
बल्लबल्ल एउटा रोधी घरमा वेटरको काम भएको सुनिन्।
काम साँझ ५ बजेदेखि राति १२ बजेसम्म गर्नुपर्ने थियो। तलब मासिक ३ हजार र टिप्स त्योभन्दा धेरै हुने भनिएको थियो।
टिप्स पनि आउने भएपछि अमृता थोरै तलबमा भएपनि काम गर्न तयार भइन्।
उनलाई वेटरको काम भनेर सरसफाईदेखि सर्भिसिङमा पनि खटाइयो। अर्कोतिर उनले ग्राहक पनि रिझाउनु पर्ने भयो।
कोहीकोही ग्राहकले आकलझुकल टिप्स दिन्थे। तर, टिप्स दिएको रकम पनि कहाँ बच्थ्यो र?
टिप्स दिएको रकमले पनि मालिकले भनेअनुसार डिजाइन– डिजाइनको ड्रेस लगाउनु पथ्र्यो। भनेअनुसार मेकअप गर्नु पथ्र्यो। नभए कामबाट निकाल्ने धम्की सुन्नु पथ्र्यो।
३ महिना बित्यो, उनले तलब पाइनन्। यता उनी बस्ने कोठाको भाडा ५ हजार थियो। महिना पुग्नेबित्तिकै घरबेटी ढोका ढक्ढक्याउन आउँथे। साथीहरूसँग सापटी मागेर उनले कोठाभाडा बुझाउँदै आएकी थिइन्।
३ महिना बितिसकेपछि पटकपटक माग्दा रोधीघर मालिकले १५ सय रुपैयाँमात्रै थमाए। साहुले भनेजति पारिश्रमिक पनि समयमा नदिएपछि दैनिकी चलाउन एकदमै कठिन भएपछि अमृताले काम छाडिन्।
फेरि उनले दोस्रो रोधी घरमा ६ हजार पारिश्रमिकमा काम सुरु गरिन्।
‘सुरुमा काठमाडौं आउँदा बल्लबल्ल यही पेशामा काम पाएको अरु पेशाबारे केही थाहा थिएन, यसैमा पहिलेको भन्दा राम्रो काम खोज्दा ६ हजार तलब पाएको थिएँ’, लामो सास तान्दै उनले भनिन्।
त्यो रोधी घरमा उनको काम टेबल सफा गर्नेमात्रै थियो।
‘सुरुमा थाहा नहुँदा रोधी घरका हरेक काममा घोटिनु प¥यो, फरक काम गर्न फरक मान्छे राखेको हुँदो रहेछ’, अमृतालाई बिस्तारै थाहा हुँदै गयो। केही समय टेबल सफा गर्ने काम गरेपछि उनले स्टेजको काम पाइन्।
अहिले उनी रोधी घरको स्टेजमा काम गर्छिन्।
‘अहिलेचाहिँ म स्टेजमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म काम गर्छु, जसरी हुन्छ धेरै ग्राहक ल्याउने, ग्राहक रिझाउने काम गर्नुपर्छ। साहुले भनेअनुसारको ड्रेसअप र मेकअप हुनुपर्छ’ अमृता भन्छिन्।
अहिले उनको पारिश्रमिक मासिक १२ हजार छ। त्यो पनि समयमा आउँदैन। टिप्समा भर पर्नुपर्छ।
‘सधै कसले टिप्स दिन्छ र?, सरकारले कि त हामी रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई श्रमिक होइन भन्नुप¥यो, होइन भने हाम्रो हकअधिकार सुनिश्चित हुनुप¥यो। कति दिन हामी जोखिम मोलेर काम गर्ने?’ अमृताले प्रश्न गरिन्।
अमृता जस्तै रात्रिकालीन, मनोरञ्जन तथा सत्कार व्यवसायमा कार्यरत थुप्रै श्रमिक ज्यानै जोखिममा राखेर काम गर्न बाध्य छन्।
उनीहरूले श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको गुनासो गरेका छन्।
अहिले सरकारले विभिन्न व्यवसाय, उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० कायम गरेको छ। पारिश्रमिकका साथसाथै उनीहरूलाई बोनस लगायतका सेवासुविधा पाउनुपर्ने कानुनी प्रावधान छ।
न्यूनतम पारिश्रमिक माग गर्दा मालिकले कामबाट निकाल्ने धम्की दिने गरेको रात्रिकालीन व्यवसायका श्रमिकहरू गुनासो गर्छन्।
रेष्टुरेन्ट, बार, तथा रोधीघर लगायत क्षेत्रका श्रमिकको हकहितमा काम गर्दै आएको संस्था ‘विश्वास’ का अनुसार पछिल्लो समय नेपालका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरू ज्यान जोखिममा राखेर काम गर्न बाध्य छन्।
उनीहरू मालिकले भनेअनुसार काम गर्नुपर्ने, यौन शोषणमा पर्ने र यसरी काम गर्दा पनि न्यूनतम पारिश्रमिक नपाउने समस्या छ।
विश्वास नेपालकी परियोजना संयोजक कमला सापकोटाका अनुसार नेपालका मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकलाई मालिकहरूले टिप्स र कमिसनको लोभ देखाएर काम लगाउँछन् तर पारिश्रमिक दिँदैनन्।
‘मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने ठूलो संख्यामा महिला श्रमिकहरू छन्। पुरुष श्रमिक पनि छन् तर उनीहरू महिलाभन्दा कम संख्यामा छन् यस क्षेत्रका प्रायजसो श्रमिक शारीरिक तथा श्रम शोषणमा परेका छन्,’ परियोजना संयोजक कमलाले भनिन्।
सरकारले यतातिर ध्यान दिन नसकेको सरोकारवालाहरूको भनाइ छ।
तर सरकार भने यस क्षेत्रमा काम गर्दा समस्यामा परेका, ऐनअनुसार पारिश्रमिक नपाएका उजुरीहरू एकदमै कम आउने गरेको बताउँछ।
श्रम कार्यालय टेकुमा पनि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरू समस्यामा परेको उजुरी लिएर थोरै संख्यामा मात्रै पुग्ने गर्छन्। श्रम कार्यालयमा उजुरी नपुगेसम्म यस क्षेत्रमा कार्यरत श्रमिकहरू समस्यामा परेको भन्ने जानकारी नहुने श्रम कार्यालयका एक अधिकारीले बताए।
श्रम अदालतका सेस्तेदार जीवन भण्डारी पनि नेपाली श्रमिकहरू समस्यामा हुँदा पनि उजुरी गर्न अदालतसम्म नआउने बताउँछन्।
‘नेपालमा श्रम शोषणमा पर्ने तथा न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको भयावह अवस्था छ तर वास्तविक प्रभावित श्रमिक अदालतसम्म आइपुग्दैनन्’ भण्डारीले भने।
(गोपनियताका लागि युवतीको नाम परिवर्तन गरिएको छ। उनकै अनुरोधमा उनी कार्यरत रोधी घरको नाम खुलाइएको छैन। )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।