काठमाडौं – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यास खेलमा लगातार तेस्रो खेलमा जित हात पारेको छ । नेपालले शनिबार भएको खेलमा तमिलनाडु 'ए' टिमलाई १ सय ४७ रनले पराजित गरेको हो।
नेपालले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५.३ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । तमिलनाडुको रन रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। तीव्र गतिका बलर करण केसी र स्पिनर सुशील कँडेलले समान २–२ विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी, ललित भन्डारी र वसन्त रेग्मीले पनि १–१ विकेट हात पारे ।तमिलनाडुका लागि आर सत्यनारायणले सर्वाधिक ६७ रन जोडे। उनी छैटौं विकेटको रुपमा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो।
पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेलेर ५ विकेटको क्षतिमा ३ सय ११ जोड्यो । भारत भ्रमणमा नेपालले तयार पारेको यो सर्वाधिक ठूलो योगफल हो । नेपालका लागि शरद भेषावकरले सतक प्रहार गरे । शरदले १ सय १९ बल खेलेर ११ चौका प्रहार गरे । भारत भ्रमणमा नेपाली ब्याट्सम्यानको यो दोस्रो सतक हो।
ओपनर सागर पुनले ७७ तथा मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ७२ रन जोडे। सागरले ९९ बलमा ५ चौका र १ छक्का हिर्काए। दीपेन्द्रले ३७ बल खेलेर ८ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३७ बलको सामना गरेर ३१ रन जोडे । विनोद भण्डारी ७ रनमा आउट हुँदा सोमपाल कामीले ४ बलमा नटआउट १० रन जोडे।
बलिङतर्फ तमिलनाडुका विगनेस राओले २ विकेट लिए । यस्तै, आकाश, बरुण र आर सत्यनारायणले समान १–१ विकेट लिए।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रन तथा दोस्रो खेलमा मेलापुर रिक्रिएसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालको ओपनर ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका थिए।
नेपाली टिम विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध खेलको तयारीका भारत भ्रमणमा गएको हो । अब नेपालले अन्तिम अभ्यास खेल खेल्न बाँकी छ । नेपाली टिम दशैंको फूलपातीमा नेपाल फर्कनेछ। दशैंपछि १० दिन अभ्यास गरेपछि नेपाली टिम हङकङ प्रस्थान गर्नेछ।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ । डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।