राजविराज- सप्तरीको तिलाठी–कोईलाडी तथा छिन्नमस्ता ‘पूर्ण विद्यालय भर्ना’ घोषणा भएका गाउँपालिका हुन्। तथ्यांक हेर्ने हो भने यी दुवै गाउँपालिकाका ५ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भई पढिरहेका छन्।
गाउँपालिकालाई यस अवस्थामा पुर्याउन सरकारी कार्यालय र त्यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले ठूलै संघर्ष गरेका छन्। पैसा पनि निकै खर्च गरेका छन्। तर, त्यसको रेकर्ड भने गाउँपालिका कार्यालयमा पनि पाउन मुस्किल छ।
अथक प्रयासपछि गाउँपालिकामा विद्यालयबाहिर कुनै पनि बालबालिका नभएको कागजी प्रमाणसहित ०७६ साउन २४ गते तिलाठी–कोईलाडी र ०७६ कात्तिक १ गते छिन्नमस्ता गाउँपालिकालाई ‘पूर्ण विद्यालय भर्ना’ गाउँपालिका घोषणा गरियो।
०७६ कात्तिक १ गते छिन्नमस्ता गाउँपालिकालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको गाउँपालिका घोषणा गर्दै जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव (दायाँबाट दोस्रो) र छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण यादव ‘कुडुर’ (बायाँबाट पहिलो)
सहयोगी संस्था सेभ द सप्तरीका अध्यक्ष धुव्रप्रसाद देव, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक खिलानाथ निरौला र अरुण महतो, शिक्षा विकास तथा समन्वय एकाइका संयोजक फणीन्द्र खत्रीलगायतको उपस्थितिमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले तिलाठी–कोईलाडीलाई तथा जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले छिन्नमस्तालाई ‘पूर्ण विद्यालय भर्ना’ गाउँपालिका घोषणा गरे। तिलाठी–कोइलाडी त प्रदेश २ कै पहिलो त्यस्तो गाउँपालिका पनि बन्यो।
अभियानअन्तर्गत तिलाठी–कोईलाडीका ८ वटै वडाका ५ हजार ९ सय ५१ बालबालिकामध्ये २ हजार २ सय ७३ जना निजी विद्यालय र ३ हजार ६ सय ७८ बालबालिका सामुदायिक विद्यालयमा भर्ना भएका छन्। छिन्नमस्ताका ७ वटै वडाका २ हजार ३० बालबालिका विद्यालयमा भर्ना भए। जसमा १ हजार १ सय ४४ बालिका तथा ८ सय ८६ बालक गरी २ हजार ३० बालबालिका १९ वटा विद्यालयमा भर्ना गरिएको तथ्यांक छ। घोषणा अनुसार ५ देखि १२ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर छैनन्।
दलित तथा भूमिहीन बस्तीमा कोही जाँदैनन् विद्यालय
तर, अवस्था भने घोषणा सभामा प्रस्तुत गरिएको तथ्यांकजस्तो छैन। दलित तथा भूमिहीन बस्ती अहिले पनि ‘पूर्ण विद्यालय भर्ना’ होइन ‘पूर्ण विद्यालय मुक्त’ को अवस्थामा छन्। कतिपय सिङ्गो बस्तीकै बालबालिका विद्यालय जान पाएका छैनन्।
.jpg)
छिन्नमस्ता गाउँपालिका –३ मा १५ घर मरिक (डोम) परिवारको बस्ती छ। सडक छेउको ऐलानी जग्गामा छाप्रो बनाएर वसेका उनीहरूले बाँसका ढक्की, नाङलो, भकारी लगायतका सामग्री बनाउने तथा बंगुर पालन गरेर जीविका चलाएका छन्।
पप्पु मरिकका ११ वर्ष मुनिका २ छोरा र १ छोरी छन्। तर, तीनैजना विद्यालय जान पाएका छैनन्। छोराछोरीलाई स्कुल किन नपठाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ, केका खर्चले स्कुल पठाउनु?’
पप्पुमात्र होईन, तेतर मरिकका ५, मञ्जु मरिकका ३ तथा पुरै १५ परिवारका करिब ४५ बालबालिका छन्। तर विद्यालय जाने बालबालिकाको संख्या आधा दर्जनभन्दा कम छन्। करिब ४० बालबालिका विद्यालयबाहिरै छन्। अधिकांश मरिक परिवारको जवाफ पप्पुको भन्दा फरक छैन।
.jpg)
‘गाउँमा सबै अशिक्षित छन्, भरपर्दो काम छैन,’ स्थानीय प्रमिला मरिक भन्छिन्, ‘कापी-कलम किन्ने खर्चसमेत नहुँदा धेरैका छोराछोरी स्कुल जान पाएका छैनन् ।’
भर्ना त भए, टिकाउन सकिएनः गाउँपालिका
छिन्नमस्ता गाउँपालिकाले भने घोषणा हुँदा सबै बालबालिका विद्यालय भर्ना भए पनि टिकाउन नसकिएको दाबी गरेको छ। ‘सबै बालबालिका विद्यालय भर्ना भएको भन्दै वडा कार्यालयले सिफारिस गरेको पत्र हामीसँग सुरक्षित छ,’ प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण भन्छन्, ‘वडा कार्यालयलाई आधार मान्ने हो भने सबै बालबालिका विद्यालय भर्ना भएकै हुन्।’
.jpg)
तर, घुमाउरो पारामा भने घोषणा कार्यक्रम गर्न हतार गरिएको र केही बालबालिका विद्यालय भर्ना हुने वातावरण बनाउन नसकिएको कर्णले पनि स्वीकारे। यो समस्या छिन्नमस्ता ३ का मरिक परिवारको मात्र होईन, दलित तथा विपन्न परिवारका बालबालिका अहिले पनि सहज रुपमा विद्यालय पुग्न सकेका छैनन्। भर्ना भएका बालबालिकासमेत बीचमै कक्षा छोड्ने प्रचलन छ।
यही समस्यालाई मध्येनजर गरी छिन्नमस्ता गाउँपालिकाले विद्यालयमा विद्यार्थी टिकाउने कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए। कतिपय बालबालिकाले विद्यालय छाडेको जानकारी पाएपछि दिवा खाजासहित विभिन्न चार वटा कार्यक्रम बनाएर लागू गर्न खोजिएको उनले बताए। विद्यार्थी टिकाउनका लागि गाउँपालिकाले दिवा खाजासहित विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्ने विभिन्न चारवटा कार्यक्रम बनाएको छ। त्यसका लगि आवश्यक बजेटसमेत बनाईएको कर्णले जानकारी दिए।
गाउँसभा नहुँदा संघीय सरकारमार्फत् आउने बजेट रोकिएको र गाउँपालिकाले आफनै रकमसमेत खर्च गर्न नपाएको बाध्यता सुनाउँदै उनले भने। ‘एक साताभित्रै गाउँसभा सम्पन्न गर्ने तयारी छ। त्यसपछि कार्यक्रम लागू गछौं र बाँकी बालबालिकालाई पनि विद्यालयमा पुर्याउन प्रयास गर्छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।