नयाँ दिल्ली– भारतमा ६ अक्टुबरदेखि सुरु हुने फिफा युथ–१७ विश्व कपमा समावेश भएका थुप्रै भारतीय खेलाडीको पृष्ठभूमिले संघर्षको कथा वयान गर्छ।
कुनै खेलाडी दर्जीको छोरा छन् भने कसैको बुवा–आमा ज्यालादारी मजदुर हुन्।
२१ सदस्यीय टिममा यस्ता धेरै खेलाडी छन्, जसले खराब आर्थिक अवस्थालाई चिरेर युथ राष्ट्रिय टोलीमा स्थान बनाए।
सिक्किमका १७ वर्षीय कोमल ठटालसँग फुटबल किन्ने पैसा थिएन। त्यसैले उनले प्लास्टिकले बेरेर बनाइएको बलले फुटबल खेल्न सिके। उनी अहिले पनि अतीत सम्झन्छन् र भन्छन्, ‘मेरो बुवा पेशाले दर्जी हो। गाउँमा हाम्रो सानो दोकान छ।’
ठटालका बुवा अरुण कुमार र आमा सुमित्राले छोराको फुटबल खेल्ने सपना साकार पार्न लामो समय लगाएर पैसा जम्मा गरेका थिए। आफ्नो अविभावकको कमजोर आर्थिक अवस्थाबाट परिचित ठटालले त्यतिबेला केही भन्न सकेका थिएनन्। ‘मलाई निकै गाह्रो परेको थियो। तर, पनि उहाँहरु मलाई साथ दिनुहुन्थ्यो,’ उनले भने, ‘मेरो फुटबल किट्सका लागि उहाँहरु पैसा बचाउनु हुन्थ्यो। किट्स किन्न मलाई केही साथीहरुले पनि आर्थिक सहयोग गरे।’
ठटाल सन् २०११ मा सिक्किमको ‘नामची खेल एकेडेमी’ मा आबद्ध भए। उनको प्रतिभाबाट प्रभावित भएर भारतीय टोलीका मुख्य प्रशिक्षकले सन् २०१४ मा उनलाई गोवास्थित एआइएफए क्याम्पमा बोलाए। त्यहीँ उनको भाग्य परिवर्तन भयो। एआइएफए क्याम्पमा अभ्यासरत रहँदा उनले भारतको विश्व कप टोलीमा स्थान बनाए।
गत वर्ष ‘ब्रिक्स कप’ मा भारतीय युवा टोलीमा सहभागी हुँदा उनले ब्राजिलविरुद्ध १–३ ले पराजित खेलमा गोल गरेका थिए।
ठटाल जस्तै मणिपुरको सानो गाउँ थाबलबाट आएका अमरजीत सिंह कियामको कहानी पनि उस्तै छ। अहिले उनलाई युथ–१७ टिमको कप्तान बनाउने सम्भावना बलियो छ।
अमरजीतका बुवा खेती मजदुरी गर्छन्। आमा घर चलाउन २५ किलोमिटर टाढा इम्फाल पुगेर माछा बेच्छिन्।
अमरजीत आफ्नो परिवारको संघर्षको कथाबाट अनभिज्ञ छैनन्। भन्छन्, ‘मेरो बुवा मजदुरी गर्नु हुन्छ। आमा माछा बेच्नु हुन्छ। उहाँहरु खेलबाट मेरो ध्यान नभट्कियोस भनेर कुनै पनि काम गर्न दिनुहुन्न।’
उनी चण्डीगढ फुटबल एकेडेमीमा आवद्ध भएपछि बुवा–आमालाई केही राहत महसुस भएको बताउँछन्। ‘मेरो खाने, बस्ने र स्कुल जाने सबै खर्च एकेडेमीले बेहोर्छ। त्यसैले बुवा–आमाको केही बोझ कम भएको छ,’ उनले भने।
टिमकै अन्य सदस्य सञ्जीव स्टालिनकी आमा फुटपाथमा कपडा बेच्छिन्। उनी भन्छन्, ‘मेरो बुवा दैनिक मजदुरीका लागि कामको खोजीमा जहिले बिहान निस्किनु हुन्छ। त्यसैले सबै जिम्मेवारी आमाको काँधमा आइपुग्छ। आमा बाटोमा कपडा बेच्नु हुन्छ।’
उनले सानोमा आफूले खेल्ने जुत्ता कसरी आउँथ्यो, त्यो थाहा नभएको तर अहिले विस्तारै बुझ्न थालेको बताए। ‘मैले लगाउने जुत्ता उहाँहरुले कडा मिहिनेत गरेपछि आएको रहेछ।’
यस्तै, टिमका अन्य खेलाडी खुमाथेम निङ्गथोइगानबाकी आमा पनि इम्फालमा माछा बेच्छिन्। यस्तै, कोलकाताका जितेन्द्र सिंहका बुवा चौकीदार हुन्। यी सबै खेलाडीको कथा समान छ। त्यसैले उनीहरु युथ–१७ विश्व कपमा उत्कृष्ट प्रदर्शन गरेर देशलाई मात्र होइन, आफ्ना अविभावकलाई पनि खुसी बनाउन चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।