काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिपको समूह 'डी'को छनोटमा नेपालले आइतबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०१८ मा हुने च्याम्पियनसिपमा समूह विजेता भएर छनोट हुने सम्भावना सकिए पनि नेपालको उत्कृष्ट दोस्रो भएर छनोट हुने सम्भावना बाँकी छ।
त्यसका लागि नेपालले आइतबार प्यालेस्टाइनलाई २ भन्दा बढी गोलअन्तरले पराजित गरेर मात्र पुग्दैन, अर्को खेलमा भारत पराजित हुनुपर्नेछ। आइतबार नै भारत र इराकबीच प्रतिस्पर्धा हुँदैछ।
नेपालका प्रशिक्षक सुनील श्रेष्ठले पनि प्यालेस्टाइनलाई हराउनुको विकल्प नभएको बताउँछन्। उनले नेपालको छनोट हुने सम्भावना बाँकी रहेको बताउँदै प्यालेस्टाइनविरुद्ध जितका लागि खेल्ने बताए।
यता लगातार २ खेलमा पराजित भएर बाहिरिइसकेको प्यालेस्टाइनका प्रशिक्षक यहया जालाएताले नेपाललाई पराजित गर्ने दाबी गरेका छन्। उनले आइतबार नेपालविरुद्ध प्यालेस्टाइनले आफ्नो असली खेल खेल्ने बताए।
यसअघि शुक्रबार प्यालेस्टाइनलाई इरकाकले ४–० ले पराजित गरेको थियो। इराक लगातार दोस्रो जित निकालेर छनोट नजिक पुगेको छ । इराकले पहिलो खेलमा नेपाललाई १–० ले पराजित गरेको थियो। इराक एएफसी यू–१६ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन टिम हो।
समूह डीमा इराकले ६ अंक जोडेको छ। भारतको ४ अंक छ भने नेपालको १ अंक छ। २ खेलमा पराजित भएको प्यालेस्टाइनले अंकको खाता खोल्न सकेको छैन।
चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ। राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।