जनकपुर- तीन जनाको हत्या गरेर फरार रहेका एक अभियुक्त ३२ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका २० (तत्कालीन लगडिगदियानी गाविस ६) बस्ने ६८ वर्षीय हिरबा सहनी छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सहनीलाई घरबाटै पक्राउ गरेको हो। सहनीले ३२ वर्ष अघि एकै परिवारका तीन जनाको हत्या गरी फरार भएका थिए।
प्रहरीका अनुसार सहनीले २०४४ सालमा अर्नमा गाउँपालिका ५ (तत्कालीन कृष्णपुर गाविस ८) बस्ने जगदेव यादवका दुई छोरा र एक नातिनीको हत्या गरेका थिए।
२०४४ साल पुस १३ गते जगदेवका छोरा रामनाथ र रामचन्द्रको गोली हानी हत्या गरिएको थियो । यो घटनाको चार दिनपछि उनका ६ महिनाकी नातिनीको पनि गागन खोलामा हत्या गरिएको थियो ।
तीनै जनाको ज्यान मुद्दाको फैसला जिल्ला अदालतमा २०६० माघ १८ गते भएको थियो। सहनीलाई उक्त फैसलाको लगत नम्बर २२२० मा १० वर्ष र लगत नम्बर २२२३ नम्बरमा २० वर्ष गरी ३० वर्ष कैद तोकिएको थियो ।
पक्राउ परेका सहनीलाई जिल्ला अदालतमा पेश गरेपछि सिरहा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।