टीकापुर– कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको छ।
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिँचाइ आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध एसएसबीले रोकेको हो। एसएसबीले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो ।
आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ।
कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले एसएसबीले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण गर्न नदिएको बताए । भारतीय पक्षले निर्माण रोके झण्डै ५० मिटर बढी क्षेत्रमा निर्माण कार्य प्रभावित हुनेछ । ‘भारतीय सीमा सुरक्षा बलले हामीलाई तटबन्ध निर्माणमा रोक लगाएको छ,’ शाहीले भने, ‘अहिले हामी नेपालको क्षेत्रमा निर्माण गरिरहेका छौं, उनीहरु आएर सीमाना तोकिदिएका छन् ।’
शाहीका अनुसार आयोजनाले नेपालको भूभाग भनेर देखाएको क्षेत्रमासमेत एसएसबीले निर्माणमा रोक लगाएको र यसबारे आयोजनालाई जानकारी दिइसकेको बताए।
टीकापुर नगरपालिका–७ का अध्यक्ष रामलाल डगौंरा थारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको बताए।
अध्यक्ष थारुका अनुसार सो क्षेत्र नेपाल भारत सीमा स्तम्भ नं. १०७ देखि १०९ सम्म पर्छ । ‘१०७ नम्बर पिल्लर नेपालतर्फ छ, १०९ भारततर्फ पर्छ,’ थारुले भने, ‘१०८ नम्बर पिल्लर मोहना नदीमा परेका कारण पनि भारतले सो क्षेत्रलाई आफनो भन्दै निर्माण कार्य रोकेको हो ।’
केही वर्ष पहिलेदेखि १०९ नम्बर पिल्लर नदीले बगाएको थियो । भारतले १०७ नम्बर पिल्लर र १०९ नम्बर पिल्लर सिधै आफनो क्षेत्रको भएको दावी गरिरहेको छ भने नेपालले १०८ नम्बर पिल्लरको खोजी गरेर मात्रै सीमा तोक्नुपर्ने दावी गर्दै आएको छ ।
‘स्पष्ट रूपमा सीमाना छुट्याएर मात्रै भारतले निर्माण कार्य रोक्नुपथ्र्याे’, अध्यक्ष थारुले भने, ‘अन्दाजको भरमा नदी कटानको जोखिममा रहेको क्षेत्रमा बन्न लागेको तटबन्ध रोक्नु हुँदैन।’
रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भारतीय पक्षले तटबन्ध निर्माणमा रोक लगाएको बताए । ‘जहाँसम्म गर्न मिल्छ निर्माण गर्छौं’ शाक्यले भने, ‘सरोकारवाला निकायले सीमा स्पष्ट पारीदिन आवश्यक छ ।’ सो क्षेत्रमा लामो समयदेखि मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण पनि सीमा विवाद हुँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।