कपिलवस्तु- कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवाकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन्।
सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माएकी हुन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स छैन।
गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थामा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो । चन्द्रौटा होटल अगाडि बीच शहरमा उर्मिलालाई ब्यथाले च्यापेपछि बच्चा जन्मिएको हो । बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताइन्। गाउँमा एम्बुलेन्स नहुँदा ट्र्याक्टरमा ल्याउँदा यो जाडोयाममा बच्चा जन्मिएको उनले बताइन्।
गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन् । ‘गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेका छन्,’ स्थानीय कलम कोरीले भनिन्, ‘भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो ।’
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन । यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भए दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।