काठमाडौं- नेपाल भ्रमण वर्ष २०२०को सचिवालयले अफिसियल एयरलाइन्सको रुपमा टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ। सचिवालयमा आयोजित एक कार्यक्रम बीच सचिवालय र टर्किस एयरलाइन्स भिजिट नेपाल २०२०को प्रवद्र्धनका लागि ८ बुँदै सम्झौतासमेत भएको छ।
सचिवालयले अन्तर्राष्ट्रिय हवाई कनेक्सनमा ठूलो योगदान पुर्याउँदै आएको टर्कीस एयरलाइन्ससँग सम्झौता गरेको हो। नेपाल भ्रमणमा आउने युरोप र अमेरिकाका पर्यटक टर्कीस एयरलाइन्सबाट नै बढी नेपाल आउने गरेका छन्। युरोप तथा अमेरिकासँग हवाई सम्पर्क जोडने काममा टर्किस एयरलाइन्सले नै गर्दै आएको छ।
नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे सम्झौता भएको हो ।
सम्झौतापछि संयोजक वैद्यले नेपाल जस्तो भूपरिवेष्ठित देशमा अन्तर्रा्ष्ट्रिय हवाई कनेक्सनको ठूलो भूमिका हुने बताएका थिए।
नेपाल उडानमा केही महंगो भए पनि टर्कीस एयरलाइन्सले निरन्तर हवाई उडान गरिरहेकोमा धन्यबाद दिदै संयोजक वैद्यले भने, ‘नेपालले पनि विमानस्थल स्तरोन्नतिका साथै सुधारका कामहरु गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलहरु थपिने क्रममा भएका कारण अझ सहज हुनेछ।’
त्यसैगरी टर्की एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको चर्चा गरेका थिए । उनले आउँदा दिनमा पनि नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तब्यमार्फत् पनि प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाएका थिए।
सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रुपमा टर्कीस एयरलाइन्स रहने, यूके, युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गर्ने, अमेरिका तथा युरोपेली देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रुपमा प्रचारप्रसार गर्ने, विदेशी पत्रकारलाई नेपाल भ्रमण वर्षको रिपोर्टिङमा आउने निश्चित पत्रकारका लागि हवाई भाडा व्यहोरिदिने उल्लेख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।