काठमाडौं– पूर्वस्वास्थ्यमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोराले बिरामीहरुका लागि वितरण गरिने भत्ताको यथोचित व्यवस्था गर्न सरकारसंग माग गरेका छन्।
मिर्गाैला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैया भत्ता दिने अघिल्लो सरकारले गरेको निर्णय वर्तमान सरकारले कटौती गरेको भन्दै उनले यस्तो माग गरेका हुन्। बोहोराले विज्ञप्ति जारी गर्दै अघिल्लो सरकारले गरेका जनपक्षीय निर्णय हठात बदर गरिदा मिर्गौला बिरामीहरू आन्दोलित हुनु परेको बताएका छन्।
'स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ। म स्वास्थ्य मन्त्री रहँदा मेरो पहलमा सरकारका तर्फबाट मिर्गाैला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैया भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो। तर, त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती गर्यो र अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि सडक आन्दोलन गर्नुपरेको छ।' विज्ञप्तिमा भनिएकाे छ। यो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार रहेकाे उनले बताएका छन्।
'म जनताले पाउने स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णय प्रति खेद प्रकट गर्न चाहन्छु। बिरामीहरूको लागि बितरण गरिने भत्ताको यथोचित व्यवस्थासमेत गरिसकेको अवस्थामा सो निर्णयलाई त्यसपछि बनेको बर्तमान सरकारबाट बदर गरियो। सो निर्णय किन बदर गरियो?' विज्ञप्तिमा भनिएकाे छ। जनहितमा गरिएको निर्णय जुनसुकै सरकार आएपनि निरन्तरता दिनुपर्ने भन्दै उनले यस विषयलाई सरकारले गम्भीर रुपमा लिई बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउनु पर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।