काठमाडौं- मलेसिया पनि अमेरिकाजस्तै टन्न कमाइ हुने मुलुक हो भन्ने लोभ देखाउँदै लाईफ इन्टरनेसनल ओभरसिज प्रालिले ४ लाख ५० हजार ठगी गरेको छ।
सो म्यानपावर कम्पनीका जनसम्पर्क अधिकृत दानबहादुर सोमैले मलेसिया अमेरिकाजस्तै भएको भन्दै ४ युवाबाट ४ लाख ५० हजार ठगी गरेका हुन् ।
ठगिनेमा गुल्मी रेसुङ्गाका अनिल बिक,सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नगरपालिका सुनसरीका सन्तोष बिष्ट छन् ।
उनीहरूलाई मलेसियाको अबिब प्लास्टिक इन्डस्ट्रीज कम्पनीमा कम्तिमा पनि मासिक १ लाख ३५ हजार कमाइ हुने प्रलोभन दिइएको थियो।
उक्त मलेसियन कम्पनीको मागपत्र दुई देशबीच भएको शून्य लागतको श्रम सम्झौताबमोजिम भए पनि म्यानपावरले सोझासाझा श्रमिकबाट अबैध रुपमा रकम असुली गरेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।
श्रमिकसँग अत्याधिक रकम असुलिरहेको भन्ने सूचनाका आधारमा विभागले उक्त म्यानपावर कम्पनीमा छापा मारेको छ।
‘४ जनासँग ४ लाख ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रङ्गेहात विभागको टोलीले फेला पारेको हो, लाईफ इन्टरनेसनल ओभर्सिस प्रालिले पैसा उठाउने र विन रिक्रुइटमेन्ट प्रालिले श्रम स्वीकृति दिने गरिएको रहेछ,’ महानिर्देशक भुसालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।