सिन्धुली- स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ६ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन्।
निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचनभन्दा अगाडि हिसाब विवरण बुझाउन ताकेता गर्दा ४५ दशमलव ५४ प्रतिशत उम्मेदवारले मात्र विवरण बुझाएका छन्। २ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा गत बैसाख ३१ गते पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचन सकिएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ।
सिन्धुलीमा विभिन्न पदमा १ हजार ३ सय ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। ती सबै दललाई निर्वाचन कार्यालयले खर्च बुझाउन ताकेता गरिरहेको छ। ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दल सबैलाई पत्राचार गरिए पनि सबै दलले नबुझाएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।




स्थानीय तह निर्वाचन ऐनको दफा ३१ को १ मा 'राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण प्रचलित संघीय कानुनबमोजिम आयोगले तोकेको कार्यालयमा बुझाउनुपर्नेछ' लेखिएको छ । दफा ३१ कै उपदफा ३ मा 'आयोगले उपददफा (१) बमोजिम विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन आयोगसम्बन्धी प्रचलित संघीय कानूनबमोजिम जरिवाना गर्न सक्नेछ' भनेर व्यवस्था गरिएको छ।
सोही दफाको उपदफा ४ को उपदफा २ अनुसार विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले रु १५ हजारसम्म जरिवाना हुने उल्लेख छ। उपदफा ५ मा ‘उपदफा ४ बमोजिम समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे रु १५ हजार जरिवाना गर्न सक्ने’ व्यवस्था छ।
आयोग ऐनमा खर्च विवरण नबुझाएमा वा अस्वाभाविक खर्च विवरण देखिएमा रु ५ लाखसम्म जरिवाना हुने व्यवस्था भए पनि जिसस सिन्धुलीको निर्वाचन साउन २५ गतेसम्म मात्र हिसाब विवरण बुझाउन दल र उम्मेदवार आएको र त्यसभन्दा पछि कुनै पनि उम्मेदवार नआएको जिल्ला निर्वाचन अधिकारी जोशीको भनाइ छ।
हिसाब नबुझाउनेमा ठूलादेखि साना दल सबैका उम्मेदवार छन्। संविधानसभा निर्वाचन २०७० का उम्मेदवारमध्ये १८ जनाले हालसम्म हिसाब विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी जोशीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।