जनकपुर- जलेश्वर अस्पतालमा एक महिलाको पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकालिएकाे छ। चिकित्सकहरुको टोलीले शल्यक्रिया गरी उक्त ट्युमर निकालेका हुन्।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३ खखना निवासी ६२ वर्षीया काशी देवीको पाठेघरमा रहेको ५ किलोको ट्युमरलाई नेपाली सेनाको चिकित्सीय टोलीले मंगलबार सफलता पूर्वक निकालेकाे हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. सुमना थापाको नेतृत्वको टोली पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकाल्न सफल भएको हो।
डा. थापाले डेढ घण्टाको शल्यक्रिया पश्चात आफूहरुको टोलीले सो ट्युमर निकाल्न सफल भएको बताए। उनले नेपाली सेनाले अहिलेसम्म गरेको छ वटा वृहत निःशुल्क शिविरहरुमध्ये पहिलो पटक यति ठूलो ट्युमरको सफल शल्यक्रिया गरेको बताउँदै शल्यक्रिया पश्चात बिरामीको अवस्था पनि सामान्य रहेको जानकारी दिए।
शल्यक्रिया गर्ने टोलीमा डा.सुमन थापासहित डा. श्रृजन मल्ल, डा.थानेश्वर रिजाल र नर्स रुपा गौतम थिए। महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३ खखनामा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा स्वास्थय परिक्षण पश्चात उनलाई नेपाली सेनाकै गाडीमा शल्यक्रियाको लागि सोमबार जलेश्वर अस्पताल ल्याइएको थियो।
मंसिर २७ गतेदेखि सुरु भई पुस ५ गतेसम्म चल्ने सो शिविरमा नेपाली सेनाले बिरामीको स्वास्थ्य परीक्षणसँगै औषधिहरु पनि निःशुल्क वितरण गरिरहेक छ। शल्यक्रिया गरिने बिरामीहरुलाई खखनाको शिविरस्थलबाट सवारी साधानको सुविधासहित महोत्तरी जिल्ला अस्पताल जलेश्वर पठाउने गरिएकाे छ।
जलेश्वरस्थित रणभीम गणका गणपति विदुर अधिकारीले तीन दिनमा ४ हजार ८ सय १७ महिला र ३ हजार ६ सय ९८ पुरुष गरी जम्मा ८ हजार ५ सय १५ जनाले उपचार पाएको जानकारी गराए। उनले शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रिया भइरहेको जानकारी दिए। तीन दिनमा जलेश्वरमा ७० जनाको शल्यक्रिया गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।