काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपमा आयोजक भुटानलाई भारतले ३–० ले पराजित गरेको छ। यसअघि भुटानले लगातार २ खेलमा जित निकालेर उपाधिमा दाबेदारीमा प्रस्तुत गरेको थियो। भुटानले पहिलो खेलमा माल्दिभ्स तथा दोस्रो खेलमा नेपाललाई हराएको थियो।
भुटान पराजित भएपछि नेपालको उपाधि रक्षा गर्ने अभियान केहि सहज भएको छ। पहिलो खेलमा पराजित नेपालले शुक्रबार भएको दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले पराजित गर्योा। नेपालको जितमा रोमन लिम्बु र रेजिन सुब्बाले गोल गरेका थिए। खेल सुरु भएको ७ मिनेटमै रोमनले गोल गरेका थिए। दोस्रो गोल ५७ मिनेटमा रेजिनले गरे।
बाँकी खेलमा जित निकाल्न सके नेपालको उपाधि रक्षा गर्ने अभियान सफल बन्ने छ। नेपालले सोमबार बंगलादेश र बुधबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
पाँच टिमबीच जारी च्याम्पियनसिपमा नेपाल, बंगलादेश र भारतले समान २–२ खेल खेलेका छन्। भुटान र माल्दिभ्सले ३–३ खेल खेलिसकेका छन्।
अंक तालिकामा बंगलादेश ६ अंक बटुलेर शीर्ष स्थानमा छ। ६ अंक नै बटुलेको भुटान दोस्रो तथा ३ अंक सहित भारत तेस्रो स्थानमा छ। ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। माल्दिभ्सले भने खाता खोल्न सकेको छैन। राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिनमा बढी अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।