जुम्ला- जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा १३ मानिस बेपत्ता भएका छन्। जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन्।
सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए। बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा छन्।
उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
बेपत्ता भएका व्यक्तिहरुको उद्धारका लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन दिईसकेकाले त्यसको तयारी भईरहेको हो । जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठका अनुसार सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा छ। तर भिजिबिलिटी कम भएकाले उड्न सकेको छैन्। ‘सुर्खेत अन्धकार जस्तै छ, जसका कारण हेलिकप्टर उड्न सकेको छैन, आकाश खुल्नेबित्तिकै हेलिकप्टर उड्ने छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘बेपत्ता नागरिकको खोजबिन सुरु हुनेछ।’
जिल्ला सुरक्षा समितिको बैठक बसेर हिमपातका कारण बेपत्ता भएका १३ जनाको उद्धार गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। उद्धारका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला सुरक्षा समितिले उद्धारका लागि आएको हेलिकप्टरसँग तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोरालार्इ पठाउने भएको छ। वडाध्यक्ष बोहोरा पाटनबारे जानकार भएकाले उद्धार टोलीसँग पठाउन सहज हुने निष्कर्ष सुरक्षा समितिले निकालेको छ। हिमपातमा बेपत्ताको उद्धारका लागि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन्। हेलिकप्टरमा उद्धार टोलीसँग उनी पनि जाने बताइएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले उद्धारका लागि हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहेको जानकारी दिए। उनले भने, ‘‘बेपत्ता नागरिकको उद्धारका लागि सरकार प्रतिबद्ध छ। तर मौसमले हेलिकप्टर उड्न दिएको छैन्। हेलिकप्टर उड्न मिल्ने मौसम हुनेबित्तिकै उद्धार तीव्र रुपमा सुरु हुन्छ।’
जडिबुटी संकलनका लागि पाटन गएका एकै गाउँका १३ जना बेपत्ता भएका हुन्। जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधि सभा संसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन्। जुम्लामा नेपाली सेनाको रेसक्यू टोली तयारी अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।