बँदेलको आक्रमणमा महिलाको मृत्यु, हात्तीको आक्रमणबाट वृद्ध घाईते

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 २०:१२:०० मा प्रकाशित

राजविराज– सप्तरीमा शनिबार बँदेलको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका ६ निवासी मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको बँदेलको आक्रमणबाट मृत्यु भएको हो। नजिकै रहेको जंगलमा खर काटने क्रममा सदालाई अचानक बँदेलले आक्रमण गरेको थियो।

घाँटीमा गम्भीर चोट लागेकी उनको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यसैगरी, शनिबारै जंगली हात्तीको आक्रमणमा परी एक वृद्ध गम्भीर घाईते भएका छन्।

गहुँको खेतमा पानी लगाउन गएका कञ्चनरुप नगरपालिका–१२, श्रवणपुरका ७५ वर्षीय सनमान भुजेललाई हात्तीले आक्रमण गरेको थियो। स्थानिय स्वास्थ्य चौकी कञ्चनपुरमा प्राथमिक उपचारपछि भुजेललाई कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।