काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै हिन्दू राष्ट्रका बारेमा जनमत संग्रह गर्न माग गरेको छ ।
हिन्दू राष्ट्र कायम गर्न संसदमा विशेष प्रस्ताव दर्ता गराए पनि त्यसमा छलफल नगराई झुक्याइएको आरोप राप्रपाले लगाएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा हिन्दू राष्ट्र स्थपना गर्नेबारे प्रत्यक्ष जनमत लिइनुपर्ने माग गरिएको छ। राप्रपाले आफ्ना मागबारे सरकार र विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने निर्णय गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।
२ वर्षमा तीन वटा सरकार निर्माण हुनु, राज्य संयन्त्र भ्रष्टाचारको दलदलमा फस्नु, कानुनी राज्यको सिद्धान्त एवं संविधानको मर्मलाई बेवास्था गर्नु जस्ता कारणले संविधान जारी गरेपछि पनि राजनीतिक स्थिरता कायम हुन नसकेको विज्ञप्तिमा भनिएको छ।
राप्रपाले राष्ट्रप्रमुखका रुपमा आलंकारी राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने राप्रपाको माग छ।स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदान दिने मतदातालाई समेत राप्रपाले धन्यवाद दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।