हे भगवान, राजनीति नपसोस्: सन्दुक रुइत

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 १७:४३:०० मा प्रकाशित

म असाध्यै विकट गाउँ ओलाङचुङ्गोलामा जन्मिएँ। मलाई मेरो पिताले ७ वर्षको उमेरमा दार्जिलिङ पढ्न पठाउनु भयो। त्यसपछि एमबीबीएस पढ्न छात्रवृत्ति पाएँ। पढेर नेपालको कुना कन्दरामा काम गरिसकेपछि फेरि आँखाको विषयमा मेडिकल साइन्स पढ्ने मौका पाएँ। 

फर्केर हेर्दा कहिलेकाहीँ म आफैं पनि विश्वास गर्न सक्दिनँ। कुनै पनि संस्था चलाउन धेरै चुनौती र अवसरको सामना गर्नुपर्छ। तिलगंगा आँखा अस्पताल खोल्दा मैले पनि त्यसको सामना गर्नुपर्‍यो। मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा प्रतिबद्धता र इमान्दारिता हो। त्यसपछि राम्रो मान्छेलाई छनोट गरेर समूह विकासको निम्ति क्षमता हुनुपर्छ। समूहसँग बसेर निर्णय गर्ने क्षमता हुनुपर्छ। नेपालको सन्दर्भमा हाम्रो संस्था राजनीतिबाट टाढा बस्यो। कसैले मलाई उपलब्धिबारे सोध्यो भने मेरो जवाफ हुनेछ, ‘हामीले तिलगंगालाई अहिलेसम्म राजनीतिबाट धेरै टाढा राख्न सक्यौं।

सकिँदो रहेछ। म एक्लैले यो काम गरेको हैन। मेरा असाध्यै राम्रा साथी छन्। मेरो टिमले मेरो भिजनलाई बुझ्न सक्यो। हामीले यसरी नै ३ दशक गर्न सक्यौं। 

वास्तवमा हाम्रो प्रमुख फोकस बिरामीमा हुनुपर्छ। हामीले बिरामीलाई सरल तरिकाले सेवा दिन सक्नुपर्छ। बिरामीले त्यो सेवा आफ्नो क्षमताले लिन सक्नुपर्‍यो। सबैभन्दा महत्वपूर्णचाहिँ कुनै पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरमा खस्कनु भएन। धनीलाई एउटा र गरिबलाई अर्को हुनु भएन। 

राज्यले सञ्चालन गरिरहेका संस्थामा भ्रष्टाचार भइरहेको छ। व्यावसायिक क्षेत्रको व्यवस्थापन र गुणस्तरमा ध्यान दिनुपर्छ। हामीले गरेर देखाएका छौं। 

हामीले जे गरे पनि राम्रो सेवा दिनैपर्छ। हामीले पढेका हुन्छौं। कसम खाएका हुन्छौं त्यो त हामीले गर्नैपर्छ। स्वास्थ्य क्षेत्रमा जसरी व्यापारीकरण हुन्छ त्यो चाहिनेभन्दा बढी भइरहेजस्तो लाग्छ। हाम्रा साथीहरूले यसलाई हटाउनु जरुरी छ। 

म मेरो पेसालाई असाध्यै माया गर्छु। आफ्नो पेसालाई जति माया गर्‍यो, त्यति क्षमता बढ्छ। 

जीवनमा आँखा शल्यक्रिया गर्दाका केही घटना म सधैं सम्झन्छु।

१० वर्षअघि दोलखा जिल्लामा शिविर गर्दा एक जना महिला कान्छीमायालाई उनको दाजुले डोकामा बोकेर लिएर आएका थिए। उनी ५ वर्षदेखि दृष्टिबिहीन थिइन्। दृष्टिबिहीन भएपछि श्रीमान्‌ले घृणा गरेका कारण उनी माइती गएकी रहेछन्। उनका ६ वर्षकी छोरी र ३ वर्षका छोरा थिए, जसलाई उनले दृष्टिविहीन हुँदै जन्म दिएकी थिइन्। हामीले त्यो दिन उनको आँखा शल्यक्रिया गर्‍यौं। दोस्रो दिन राउण्डमा बिरामी हेर्न गयौं। पट्टी बिस्तारै खोलिसकेपछि उनले बिस्तारै हेरिन्। अप्रेसनभन्दा पहिला ६० वर्षजस्तो लाग्थिन् उनी,  केही समयमा सबै देखिसकेपछि करिब २० वर्ष कान्छी देखिँदी रहिछिन्। बिस्तारै उनको काखमा उनको बच्चा राख्यौं। कान्छीले एकछिनसम्म ट्वाल्ल परेर हेरिन्। अनि उनको हातले गालामा ल्याएर सुम्सुम्याइन्। अनि चुप्पा गरेर बच्चालाई काखमा राखेर आँसुका थोपा तपतप चुहिए।

हामी धेरै भाग्यमानी छौं। त्यस्तो भावना हामी कहिले पनि देख्दैनौं। जुन बच्चालाई आमाले ९ महिना पालेर ३ वर्षपछि एकैपटक देख्दा कस्तो महसुस भयो होला ? हामी उनलाई अझै पनि फलो गरिराको छौं। कान्छी सिन्धुपाल्चोकमा आफ्नै काममा व्यस्त छिन्। अहिले उनको बच्चाहरु स्कुल जान्छन्। 

एक वर्षअघिको हेटौंडा अस्पतालमा एउटा शिविर गरेका थियौं। शिविर गर्ने क्रममा ८ वर्षका बालक रोशन थिङ आए। त्यो उमेरमा बेहोस नगरी अपरेशन गर्न हामीलाई चुनौती हुन्छ। तर हाम्रा स्टाफ असाध्यै राम्रा छन्। फकाएर दुवै आँखाको अपरेशन गर्‍यौं। मैले सोधें– रोशन बाबु। आँखा देखेपछि भोलि के खाने त?

उसले भन्यो– मैले मःम खाएकै छैन। मःम खाने सर। 

भोलिपल्ट राउण्डमा बिरामी राख्यौं। बिरामी हेर्ने क्रममा एकजना निजगढकी दिदी थिइन्। उनको दुवै आँखा बन्द थियो। हामी हेर्दै थियौं। रोशनको पालो ‘सेकेण्ड लास्ट’ मा थियो। उसले आँखा खोलेपछि म अगाडिको कुर्सीमा थाकेर बसेँ। एकैपटक ऊ झम्टेर आएर मलाई छुन आयो। मलाई अचम्म लाग्यो। मेरो कपाल र गाला सुम्सुम्याउन थाल्यो। चस्मा लगाएको थिएँ। फुकालेँ। त्यो मैले नसोचेको प्रतिक्रिया थियो। यो सुन्दर प्रतिक्रिया म जीवनमा कसरी भुलूँ।

भारतबाट बर्सेनी १ लाख मानिसहरु सीमाक्षेत्रका आँखा अस्पतालमा शल्यक्रिया गर्न आउनुहुन्छ। भुटान, भारतको आसाम, सिक्किम, दार्जिलिङ, चीन र पाकिस्तानबाट जाँच र शल्यक्रियाका लागि बिरामी आउँछन्। शुल्क पनि सस्तो छ। 

सबैभन्दा ठूलो कुराचाहिँ नेतृत्व व्यवस्थापन र गुणस्तर हो। 

राजनीति नपसोस्, हामी गर्न सक्छौं। गरेर पनि खाएका छौं। पक्का गर्न सक्छौं। मसँग हुने र अर्को फिल्डमा हुने डाक्टर एकसे–एक हुनुहुन्छ। उहाँहरू सबै गर्न सक्नुहुन्छ । 

तराईको स्वास्थ्य क्षेत्र देख्दा मलाई रुन मन लाग्छ। त्यहाँका साथीहरूले गुणस्तरीय स्वास्थ्य राम्रोसँग पाउनुहन्न। सरकारले एउटा नमुना बनाइदियो र त्यो राम्रोसँग चल्यो भने अरु पनि चलाउन सकिन्छ। 

अहिले हामीकहाँ अन्धोपन यति, उति छौं भन्छौं। नेपालमा म र मेरा सहपाठीहरूले मिहिनेत गर्‍यौं भने विश्वले पनि नेपालमा अन्धोपन निवारणको राम्रो उपाय छ भन्ने थाहा पाउँछ। त्यो अन्तर्राष्ट्रिय रुपमा भइरहेको छ। मलाई गर्व लाग्छ यो नेपालको सरकारलाई देन होजस्तो लाग्छ। नेपाली झण्डा लिएर हामी संसारभरि जान सक्छौं जस्तो लाग्छ। 

यहाँ सक्ने बिरामीले पनि १५–२० हजारभन्दा बढी तिर्नु पर्दैन। तर विदेशमा एउटा शल्यक्रियाको साढे ५ लाख डलर लाग्छ। 

संसारमा अझै पनि २ करोड मानिसलाई शल्यक्रियाको तुरुन्त जरुरी छ। नेपालमा करिब २ लाख मानिसलाई आवश्यक छ। उनीहरूले उपचार पाए भने देख्न सक्छन्। 

आर्थिक अवस्थाका कारणले हामीले अझै गर्न सकिरहेका छैनौं। अबको १० वर्षमा धेरै ध्यान दिएर अगाडि जाने प्रक्रियामा पनि छौं। 

आँखाको क्षेत्रमा राम्रा जनशक्ति ५० जनाभन्दा बढी छन्। विभिन्न ठाउँमा बसेर जनताको सेवा गरिरहनुभएको छ। तालिम प्रकियामा हामी गम्भीर रुपमा लागेका छौं। 

आउँदो वर्षमा त्यो संख्या पनि बढ्दै जान्छ। 

प्रि–स्कुल बालबालिकालाई स्कुलमा भर्ना गर्दा आँखाको चेक गराउनुस्। नेपालजस्तो देशमा मधुमेह महामारीको रुपमा आइरहेको छ। यसले आँखामा असर गर्छ। त्यसैले मधुमेह भएको मान्छेले आँखामा चेक गराउनुपर्छ। अर्कोचाहिँ ४० पुगिसकेको मान्छेले आँखा अत्यावश्यक रुपमा चेक गराउनुहोला। 

(डा रुइतले नेपाल लिट्रेचर फेस्टिबलको दोस्रो दिन चौथो चरणको 'दृष्टिदान' सेसनमा गरेको संवादको सम्पादित अंश)