काठमाडौं– महत्वपूर्ण खेलमा भारतसँग २–२ गोलको बराबरीमा रोकिएपछि नेपालको एएफसी यू–१६ च्याम्पियनसिप २०१८ मा छनोट हुने सम्भावना कठिन बनेको छ।
शुक्रबार हल्चोक मैदानमा भारतविरुद्धको खेलमा १ गोलले पछाडि परेको अवस्था उल्टाएर नेपालले बराबरी खेलेको हो । बृजेश चौधरीले ७६औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
तर, बीचमा भारतका हर्पितले ८१औं र ८४औं मिनेटमा लगातार २ गोल फर्काएपछि नेपाल २–१ ले पछाडि परेको थियो । पराजय नजिक पुगेको नेपाललाई २ मिनेटको खेल बाँकी हुँदा बृजेशले बराबरीमा ल्याए।
समूह डी छनोटको अन्तिम चरणका खेल बाँकी रहँदा १ अंक जोडेको नेपालको सीधै छनोट हुने सम्भावना भने सकिएको छ । तर, उत्कृष्ट दोस्रो भएर छनोट हुने आशा बाँकी नै छ । त्यसका लागि नेपालले आइतबार प्यालेस्टाइनलाई २ भन्दा बढी गोलअन्तरले पराजित गरेर मात्र पुग्दैन, अर्को खेलमा भारत पराजित हुनुपर्नेछ । आइतबार नै भारत र इराकबीच प्रतिस्पर्धा हुँदै छ।
शुक्रबार नै प्यालेस्टाइनलाई ४–० ले पराजित गरेको इराक लगातार दोस्रो जित निकालेर छनोट नजिक पुगेको छ । इराकले पहिलो खेलमा नेपाललाई १–० ले पराजित गरेको थियो । इराक एएफसी यू–१६ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन टिम हो।
समूह डीमा इराकले ६ अंक जोडेको छ । भारतको ४ अंक छ भने नेपालको १ अंक छ । २ खेलमा पराजित भएको प्यालेस्टाइनले अंकको खाता खोल्न सकेको छैन।
चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ । राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।