काठमाडौं- नेकपा एमालले प्रदेश २ मा पहिलो शक्ति बन्न नसक्नुमा विपक्षीको मोर्चाबन्दी र सरकारको धाँधली प्रमुख कारण भएको आरोप लगाएको छ।
प्रदेश २ मा पनि पहिलो शक्तिका रुपमा मतपरिणाम आउने दाबी गरेको एमालले उक्त परिणाम नआउने संकेत पाएसँगै आफू विरुद्ध मोर्चाबन्दी भएको प्रतिक्रिया दिएको हो।
एमालेले सरकारमा रहेका दलहरुले ‘राज्यशक्ति दुरुपयोग’ गर्दै एमालेलाई हराउन धाँधली गरेको दाबी गरेको छ।
राजधानीमा सुरु भएको पार्टी केन्द्रीय कमिटिको ८औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएकाले केही स्थानमा हार्न पुगेको बताए।
‘सरकारमा रहेका पार्टी र मधेशवादी दल समेत मिलेर एमालेविरुद्ध मोर्चाबन्दी गरी निर्वाचनमा सहभागी भए,’ ओलीले वैठकमा भने, ‘त्यसका बावजुद एमालेको कमजोर परिणाम आएको छैन।’
‘एमालेले जुन-जुन स्थानमा हारेको छ १०–२०, ५०-१०० भोटको अन्तरले मात्र हारेको देखिन्छ,’ ओलीले भने, ‘कतिपय स्थानमा धाँधली गरेर हराइएकाले यस्तो भएको हो।’
ओलीले एमालेलाई पत्तासाफ गराउँछौं भनेर मधेस झरेका पार्टीका नेता र सत्ताको दम्भमा मधेश आफ्नो भोट बैंक भन्ने नेपाली कांग्रेसका कतिपय गढमा भने आफूहरुले सफलता हात पारेको दाबी गरे।
‘अहिले नै हतोत्साहित हुनु पर्दैन,’ ओलीले केन्द्रीय नेताहरुलाई भने, ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउँदै छ, त्यसमा जवाफ दिने तयारी थाल्नुस्।’
एमाले केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठका अनुसार ओलीले नेताहरुलाई स्थानीय तहमा प्रदेश २ मा भोगेको पराजयको बदला प्रदेश र केन्द्रको निर्वाचनमा लिने जोशका साथ प्रचारमा लाग्न आग्रह गरे।
ओलीले केन्द्रमा एमालेको बहुमत सरकार बन्ने र सात वटै प्रदेशमा एमालेकै मुख्यमन्त्री चयन हुने दाबी गर्दै हाल कायम रहेको जनमत जोगाउनतर्फ लाग्न केन्द्रीय सदस्यलाई आग्रह गरे।
एक वर्षदेखि बस्न नसकेको एमालेको केन्द्रीय समिति बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको हो। १२ असोज ०७३ यता एमालेको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। तीन दिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।