सामान्यतयाः निरोगी र वयस्क व्यक्तिले चौबीस घण्टामा कूल पिसाबको २० प्रतिशत मात्र सुतेको बेला उत्पादन गर्छ । तर वृद्धावस्थामा भने चौबीस घण्टाको पिसाबको ३३ प्रतिशत सुतेको समयमा उत्पादन हुन्छ । यो सामान्य मात्राभन्दा बढी पिसाव उत्पादन हुनुलाई रात्रि मूत्रश्राव रोग भनिन्छ । सुतेर उठेको पहिलो पिसाबलाई पनि रात्रिकालीन पिसाब मान्नुपर्छ ।
हाम्रो देशमा रात्रि मूत्रश्रावबाट कति प्रतिशत जनसंख्या पीडित छन् भन्ने कुनै आँकडा छैन । तर बिभिन्न अध्ययनले कुल जनसंख्याको २५ प्रतिशत भन्दा बढि मानिसमा रात्रि मूत्रश्रावको समस्या हुनसक्ने देखाएको छ । यो आकडाले पनि रात्रि मूत्रश्रावलाई ठूलो समस्याका रूपमा देखाएको छ । कम उमेरका भन्दा बढी उमेरका व्यक्तिलाई राति उठेर पिसाब फेर्नुपर्ने बाध्यता देखिन्छ । यो समस्याले मानिसको जीवनको गुणस्तर, जीवनशैली, जीवन ऊर्जा तथा जीवनका विभिन्न पक्षमा सोझै असर पार्नसक्छ ।
याे पनि - यो पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन् ?
रात्रि मूत्रश्राव हुनुका पछाडि थुप्रै कारण छन् । तर कारण सबै व्यक्तिमा समान हुंदैन । सामान्य कारणले पनि यो समस्या उत्पन्न हुनसक्छ । सामान्य कारणमा अनिदो, सुत्नुअघि धेरै तरल पदार्थ पिउने, मूत्रथैलीको भण्डार गर्ने क्षमतामा कमी आदि पर्छन् । तर कहिलेकाहिँ कलेजो बिग्रेमा, पुरुषमा प्रोष्टेट ग्रन्थीको वृद्धि भएमा वा सुकेमा, मूत्रथैलीको पिसाब सञ्चय गर्ने क्षमतामा कमी आएमा, मूत्रथैली वा पिसाबको संक्रमण भएमा वा मधुमेहका कारणले पनि यो रोग लाग्छ । यसबाहेक कलेजो वा मिर्गाैला रोगको कारणले जीउमा सुजन हुनु, पिसाब फेरेपछि पूरा मात्रामा मूत्रत्याग नभएर थैलीमा पिसाबको मात्रा बाँकी हुनु, मासिक समस्या र धेरै पिसाब बन्ने रोग र केही पिसाब धेरै बनाउने औषधी सेवनका कारण पनि यो समस्या देखिन्छ । । तर यसबाहेक अरु थुप्रै कारणले पनि यो समस्या हुनसक्छ ।
बिभिन्न अध्ययनले एकपल्ट रात्रि मूत्रत्याग गर्ने बानीलाई धेरैले सहजरुपमा लिने गरेको देखाएको छ । यदि दुई वा तीन पल्ट पिसाव फेर्न उठ्नुपरे चाहिँ यो नराम्रो समस्याका रूपमा प्रस्तुत हुन्छ । तीन पल्टभन्दा बढी उठ्नुपर्दा सबैजसो यो अवस्थालाई निराशापूर्ण रुपमा लिएर उपचारको खोजीमा भौँतारिने गर्छन् । सर्वप्रथम रात्रिको मूत्रत्यागले निद्रामा ज्यादै नराम्रो असर पार्ने हुँदा यो नै सबैको चासोको विषय हुनपुग्छ । तर यससँगै अनिद्रा आफैमा रात्रि मूत्रश्रावको कारण हुन सक्छ भन्ने पनि बिर्सनु हुँदैन ।
सुत्नु जानुअघि पिसाब फेरेर सुत्दा पनि छिनछिनमा पिसाब गर्न उठ्दैे समय बित्ने गर्छ ? शुरुमा तुरुन्तै गहिरो निद्रा आए पनि बीचमा पिसाब लागेर उठ्नुपर्दा त्यसपछि फेरि तुरुन्तै सजिलै निदाउन सकिन्छ ? वा धेरैबेर ओल्टेकोल्टे पर्नुपर्ने वा कुरा मनमा खेलाई राख्नुपर्ने अवस्था आउछ र फेरि पिसाब फेर्न जानुपर्छ ? यस्ता प्रश्नबाट समस्याको तह र कारण थाहा पाउन सकिन्छ ।
अर्काे महत्वपूर्ण थाहा पाउनुपर्ने कुरा खुट्टा फुल्ने वा शरीरको अन्य भागमा सुज भएको छ कि छैन ? सुत्नु अगाडि वा पिसाब फेर्न उठेको बेलामा पानी पिउने गरिएको छ कि छैन ? पानी पिउनुको कारण मुख सुक्नु, तिर्खा लाग्नु हो वा त्यसै पानी पिउने गरेको हो ? राति कुनै औषधि सेवन गर्दा बढी पानी पिउने बानी छ कि ?मधुमेह रोग भए, नभएको, पुरुष भए उसको प्रोष्टेट ग्रन्थीको अवस्था के छ ? पिसाबको धारा मसिनो–कमजोर–लुलो कस्तो छ ? नसुतेको अवस्थामा कति छिटोछिटो पिसाब फेरि राख्नुपर्दछ र पिसाब फेरि सकेपछि निख्रेको अनुभव हुन्छ या हुँदैन ?
पिसाब फेर्न गएपछि कुरेर मात्र पिसाब हुन्छ वा बल गरेर पिसाब गर्नुपर्छ ? पिसाब गर्दा पोल्ने, दुख्ने वा वीर्य स्खलन हुँदा पोल्ने वा पीडा हुन्छ कि हुँदैन ? चौबिस घण्टामा कतिपल्ट पिसाब फेर्नुपर्छ ? प्रत्येकपल्ट पिसाबको मात्रा कति हुन्छ ? त्यसमध्ये सुतेको समयको पिसाबको मात्रा कति पुग्छ ? मांशपेशी लचिलो नभएर सोचेर नै हातखुट्टा चलाउनुपर्ने रोग पारकिन्ससन्ज भएको बिरामीलाई पनि सुतेको बेलामा बारम्बार मूत्रत्याग गर्नुपर्ने लक्षण देखिने भएकोले बिरामीको मांशपेशी ठर्राे भएर नचल्ने खालको अवस्था छ कि ? यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । यस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
पिसाब थैली तथा प्रोस्टेटको क्यान्सर भएको अवस्थामा पनि रात्रि मूत्रत्याग बढी हुनसक्ने भएकाले पिसाबमा रगत गए नगएको ध्यान दिनुपर्छ । खास गरेर धूमपान गर्नेहरुले यो कुरामा ज्यादै चनाखो हुनु जरुरी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।