काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता मंगलबार समापन हुँदैछ। सागमा सबैभन्दा धेरै दर्शकको जमघट हुने दशरथ रंगशालामा मंगलबार समापन कार्यक्रम हुनेछ। त्यसअघि नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल।
झण्डै गएको चार वर्षदेखि रंगशालामा फुटबल हेर्न नपाएका नेपाली दर्शक यसपटक सागमा खचाखच भरिने गरी आइरहेका छन्। राष्ट्रिय टिम खेलिरहँदा पनि लगभग खाली देखिने कीर्तिपुर क्रिकेट मैदान र २३ वर्षमुनिको फुटबल टिमको खेल हेर्न दर्शकको ठेलमठेल हुने दशरथ रंगशाला हेर्दा अझै पनि नेपालमा फुटबलकै क्रेज बढी रहेको देखिन्छ।
दर्शकको उत्साह र दशरथ रंगशालामा देखिएको भिड जति छ, त्यति नै दर्शक रंगशालामा टिकट नै काटेर आएका भने छैनन्।
मंसिर १५ गते औपचारिक उद्घाटन भए पनि १६ गतेदेखि दशरथ रंगशालामा फुटबलका खेलहरु सुरु भए। जहाँ फुटबल हेर्न नेपाली दर्शक चार वर्षको प्रतीक्षालाई पूरा गर्दै आए।
विसं २०७२ सालको विनासकारी भूकम्पपछि दशरथ रंगशाला सुनसान थियो। मसानघाट जस्तो रंगशाला १३औं सागका कारण नै ब्युँतियो।
भत्कनुअघि दशरथ रंगशालामा सबैतिर सिट हालिएको थिएन। त्यसैले यति नै दर्शक अट्छन् भन्ने एकीन थिएन। झण्डै २० हजार दर्शक अट्छन भन्ने अनुमान गरिन्थ्यो। अहिले सिट हालेपछि दर्शक क्षमता १४ हजार ५ सय भएको एकीन छ।
नेपालले आफ्नो पहिलो खेल भुटानसँग मंसिर १७ गते खेल्यो। भुटानविरुद्ध ४-० गोलको जित निकाल्दा दर्शकको उपस्थिति उल्लेख्य थियो। मंसिर १८ गते श्रीलंकाविरुद्ध नेपालले १-१ गोलको बराबरी खेल्दा पनि दर्शकको उपस्थितिले रशरथ रंगशालाको वास्तविक पहिचान दियो। भुटानविरुद्ध सिट नम्बर सहित रंगशाला पसेका ६ हजार ७ सय ७६ दर्शक थिए भने श्रीलंकाविरुद्ध ७ हजार ८ सय १४ जना थिए।

माल्दिभ्सलाई नेपालले २–१ गोलअन्तरले पराजित गर्दा त झनै दर्शकको स्थिति यस्तो थियो कि सञ्चार माध्यमलाई छुट्याएको भनिएको स्थानमा समेत दर्शक कोचिएका थिए। १४ हजार ५ सयको दर्शक क्षमता पूरै भरिएको थियो भने सिँढी र भर्याङसमेत खाली थिएनन्।
यति धेरै दर्शकको आगमन हुँदा टिकट कति बिक्री भयो त? माल्दिभ्सविरुद्धको खेलमा टिकट १२ हजार ६ सय ३७ वटा बिक्री भएको देखिन्छ। जसमा १ हजार १५ जना भनसुनमा पैसा नतिरी टिकट लिएर छिर्नेको संख्या पनि जोडिएको छ। त्यसमा ११ हजार ६ सय २२ जनाले भने पैसा तिरेर टिकट लिएर नै खेल हेरे।
१४ हजार ५ सयमध्ये भिआइपी प्याराफिटतर्फका केही सिट पाहुनाका लागि छुट्याइएको छ भने केही सञ्चारकर्मीका लागि छ। बाँकी सबै टिकट काटेर खेल हेर्न आउने दर्शकको लागि हो। क्षमताभन्दा पनि बढी दर्शक रंगशालामा खेल हेर्न आए।
त्यसमा बिनाटिकट रंगशालामा प्रवेश गर्नेको संख्या पनि ठूलो रहेको देखिन्छ।
राउण्ड रोविनको आधारमा सञ्चालन भएको फुटबलमा बंगलादेशविरुद्धको खेलमा पनि केही दर्शकले बस्ने स्थानसमेत पाएका थिएनन्। १२ हजार १ सय ७१ जनाले टिकट लिएर खेल हेरे। जसमा हजार भन्दा बढीले पैसा नतिरी भनसुनको आधारमा पास लिएर खेल हेरे। यसरी भनसुनमा छिर्नेमा पनि आधिकारिक टिकट बिक्रेता ईसेवासँग रहेको तथ्यांकमा मात्रै देखिन्छ। त्यसबाहेक सित्तैमा छिर्नेको संख्या त अझ ठूलो छ।
बंगलादेशविरुद्ध ११ हजार १ सय ७१ जनाले टिकट किनेर खेल हेरे। टिकटको मूल्य भिआइपीतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५ सय तोकिएको थियो। जुन बढेर फाइनलका लागि दोब्बर भएको छ।
भेटिएकै एक उदाहरण हेर्ने हो भने- बानेश्वर बस्ने धादिङका एक युवक नेपाल र माल्दिभ्सबीचको खेल हेरिरहेका थिए। भिआइपी प्याराफिटमा भेटिएका उनीसँग न टिकट थियो। न त कुनै पास।
भनिरहेका थिए- ‘गेटमा हाम्रो मान्छे छ किन चाहियो टिकट?’

उनी अघि थप्छन्, ‘मैले भुटान र श्रीलंकासँगको खेल पनि यसरी नै हेरेको हो।’
उनले गर्वका साथ सित्तैमा फुटबल हेरेको सुनाइरहँदा लाग्छ गेटमा बसेका मान्छे नै फुटबलका सबथोक हुन्। उनी त एउटा प्रतिनिधी पात्र मात्रै हुन्। एउटै खेलमा यसरी बिना पैसा आफ्नो मान्छेको आधारमा खेल हेर्नेको संख्या ठूलो छ। त्यसमा माल्दिभ्सविरुद्ध बिक्री भएका ११ हजार ६ सय २२ टिकट र बंगलादेशविरुद्ध बिक्री भएका ११ हजार १ सय ७१ टिकट संख्या र रंगशालामा भर्याङमा समेत बसेका दर्शक हेर्दा थाहा भइहाल्छ।
टिकट लिएकै दर्शकले खेल हेर्न पाएनन्
आफ्नो मान्छे र भनसुनकै आधारमा रंगशालामा खेल हेर्न मान्छे छिरिदिँदा टिकट लिएकै कतिपय दर्शकले भने बंगलादेशविरुद्धको खेल हेर्न पाएनन्।
टिकट बिक्रेता ई-सेवाका मुख्य कार्यकारी अधिकृत रोशन लामिछानेका अनुसार बंगलादेशविरुद्धको खेल हेर्न पैसा तिरेर टिकट लिएका ३० भन्दा बढी दर्शक छुटे। उनी भन्छन्, ‘दर्शकहरु पनि ढिलो गरी आए। अर्को कुरा सुरक्षाकर्मीले भित्रबाट पूरै रंगशाला भरिएको छ भन्दै गेट नै लगाइदिए। त्यसले विचरा टिकट भएकै मान्छेले पनि खेल हेर्न पाएनन्। उनीहरुलाई ढिलो गरी भित्र त पसाइयो तर त्यसरी जाँदा खेलको मज्जा नै मरिसकेको हुन्छ।’
ई-सेवाकै अनुसार सबै सिट क्षमता अनुसार नै टिकट काटिएको छ, तर आफ्नो मान्छे छिराएकै कारण खेल हेर्नकै लागि टिकट काटेका मान्छे भने गेट बाहिरै भए। सुरक्षाकर्मीले भने आफ्नो मान्छे लुतुलुतु छिराइरहेका थिए। त्यसो त, सुरक्षाकर्मी पनि कोही बर्दीमा कोही बर्दीबिना सिट ओगटेर बसिरहेका दृश्य रंगशालामा सामान्य भइसक्यो।
फाइनलमा दर्शक मिलाउन चुनौती
नेपाल र भुटानबीचको फाइनलका लागि दर्शक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती यसअघिका खेलमा भन्दा बढेको छ। एक त टिकटको रकम दोब्बर पारिएकाले सामान्य दर्शक आक्रोशित देखिन्छन् भने अर्को त बढेकै पैसामा पनि टिकट काट्न नपाउने धेरै छन्।
आइतबार राति १२ बजेतिर खोलिएको टिकट रातभरमा नै १२ सय भन्दा बढी बिक्री भइसकेको थियो। त्यसमा बिहान कताको टिकट बेच्ने र कताको टिकट नबेच्ने भन्ने अन्योलले टिकट बिक्री नै रोकियो। फाइनलपछि नै समापन कार्यक्रम हुने हुँदा त्यसका लागि पनि केही पाहुना र समापनका बेला प्रस्तुति दिने केहीका लागि सिट छाड्नुपर्ने छ।
सबै टिकट नेपाली दर्शकलाई मात्रै बेचिदिने हो भने पनि भुटानबाट विमान नै चार्टर गरेर खेल हेर्न आएका दर्शकले टिकट नै नपाउने हुन् कि भन्ने चिन्ता पनि छ। त्यसका लागि १५ प्रतिशत टिकट भुटानी समर्थकका लागि सुरक्षित राख्ने बारेमा ई-सेवामार्फत सहकार्य भइरहेको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का पदाधिकारी, अलिख नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र ओलम्पिक कमिटीलगायतका पदाधिकारीसहित सुरक्षाकर्मीले समेत ‘आफ्ना मान्छे’ छिराइदिने र दर्शकको ठाउँ ओगटिदिने डरले त अझ चुनौती थपिएकै छ। त्यसमा सञ्चारकर्मीको पास भएकाहरु पनि खुसुक्क आफ्ना मान्छे पसाउन लागिदिँदा ‘काम कुरो एकातिर ......’ जस्तो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।