उपनिर्वाचन अघिसम्म नेपाली राजनीतिको परिदृश्यमा खेमराज पौडेल खासै चर्चामा थिएनन्। भलै कास्कीबासी र नेपाली कांग्रेसको वृत्तमा उनको छुट्टै प्रभाव र योगदान छ।
उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की- २ मा कांग्रेसको उम्मेदवार बनेपछि उनी चर्चामा आए। चुनाव हारे तर हारेर पनि पौडेलले धेरैलाई आदर्शको सन्देश दिएर गए।
चुनावी परिणामले संसद भवनसम्मको यात्रा रोकिँदै गर्दा केही महत्वपूर्ण सन्देश दिएर गए पौडेल। ती सन्देश नेपालको प्रदूषित राजनीतिमाथि चोटिलो व्यंग्य पनि हो। लामो समय बौद्धिक कर्ममा रहेको प्रभाव राजनीतिमा पनि छोड्न सफल भए पौडेल।
हुन त पढालेखा मान्छे राजनीतिमा नैतिकवान र सभ्य देखिन्छन् नै भन्ने ग्यारेन्टी छैन। सभ्यपन र नैतिकताको मापदन्ड र आधार शैक्षिक योग्यता पनि होइन। साथै राजनीतिमा उमेर र शैक्षिक योग्यता निर्धारण गर्नु बेवकुफी हो।
राजनीतिको आफ्नै पाठ्यक्रम हुन्छ, जो राजनीतिज्ञले समाजमा घुलमिल गरेर पढ्छ। जनतासँगको उठबसमा बुझ्छ। राजनीतिमा कुनै उमेर हदको तर्क पनि उपयुक्त हुँदैन। मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त हुने व्यक्तिले जुनै उमेरमा पनि राजनीति गर्न सक्छ। तर राजनीतिको पाठ्यक्रममा समाज पढेर राजनीतिज्ञ सभ्य र नैतिकवान हुनुपर्छ भने जरुरी छ। भलै संसारमा यो आदर्श र सोचको व्यावहारिक पाटो एकदमै कमजोर छ।
मानसिक र शारीरिक तन्दुरुस्ती छ भन्दैमा जीवनकालभर राजनीति गर्न भने हुँदैन। यति कुरा राजनीतिज्ञले अबलम्वन गरे राजनीति प्रदूषित हुँदैन। हो, राजनीतिमा बुढ्यौली भन्ने हुँदैन। राजनीतिमा आलोकाँचो भन्ने पनि हुँदैन। राजनीति जहिले पनि र जुनै उमेर समूहकाले पनि गर्न सक्छन्। सर्त यत्ति हो कि जवानीदेखि बुढ्यौलीसम्म राजनीतिक पद ओगट्ने प्रयास भने गर्नु हुँदैन। कुनै निश्चित समयमा काम गरेपछि वा केही समय प्रयास गरेपछि वा पद पाएपछि अरुलाई अवसर दिनुपर्छ।
सधैं आफू योग्य छु भनेर पद ओगट्न खोज्दा राजनीति पेसा बन्न जान्छ। जब सेवाको क्षेत्रलाई पेसामा बदल्ने कोशिष गरिन्छ, तब त्यो क्षेत्रमा विकृति र विसंगति बढ्दै जान्छ। आजको दिनमा नेपाल जस्ता अधिकांश तेस्रो विश्वले यही नियति भोगिरहेको छ। यसको निम्ति नियमभन्दा पनि राजनीतिज्ञको भूमिका अहं हुन्छ।
सधैं आफू योग्य छु भनेर पद ओगट्न खोज्दा राजनीति पेसा बन्न जान्छ। जब सेवाको क्षेत्रलाई पेसामा बदल्ने कोशिष गरिन्छ, तब त्यो क्षेत्रमा विकृति र विसंगति बढ्दै जान्छ।
प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले अरुलाई पनि अवसर दिनुपर्छ भन्दै दुई कार्यकाल मात्र राष्ट्रपति भएका थिए। त्यसपछि त्यही अभ्यास लामो समयसम्म जारी रह्यो। दोस्रो विश्व युद्धताकाका राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टको पालामा भने यो अभ्यास तोडियो। युद्ध र नेतृत्वसँग सम्बन्धित आवश्यकताले यो क्रम तोडिएको हुन सक्छ। बहालमा रहँदा रुजवेल्टको मृत्यु भएपछि अमेरिकाको संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति ह्यारी ट्रयुम्यान राष्ट्रपति भएका थिए।
सन् १९४७ मा संविधान संसोधन गरेर कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति हुने व्यवस्था गरियो। आज अमेरिकाको संविधान अनुसार बुढ्यौलीले राष्ट्रपति हुन रोक्दैन तर दुई कार्यकालभन्दा बढी पदमा रहन पनि पाउँदैन। अहिले आएर यी कुरा अमेरिकी राजनीतिज्ञको लागि नियमभन्दा बढी नैतिकताको विषय हो।
विशेषतः एकपल्ट जनताबाट अस्वीकृत भएपछि फेरि त्यो बाटो रोज्ने मनसाय बनाउँदैनन्। यही मनसाय, सोच र आदर्श पोखराका कांग्रेसी नेता खेमराज पौडेलले देखाए। पूरा जोसका साथ निर्वाचनमा होमिएका पौडेलले चुनाव हारेपछि भने– अब म उठ्दिन, युवामा ऊर्जा भर्छु। यो आफैंमा राजनीतिक नैतिकता र नयाँ पुस्ताप्रतिको विश्वास थियो, जो धेरै राजनीतिज्ञले देखाउन जरुरी छ। सबभन्दा बढी पौडेलकै पार्टी सभापति शेरबहादुर देउवाले देखाउने बेला आएको छ।
एमालेले पछिल्लो महाधिवेशनमा ७० काटेपछि नेताले विश्राम लिने नीति बनाएको थियो। तर माओवादीसँगको पार्टी एकतासँगै यो नीति पनि हराएको छ। हुन त राजनीतिमा नियमभन्दा नैतिकता महत्वपूर्ण हो। तर यसले नेताले जीवनपर्यन्त आफूलाई राजनीति गर्न सहज नियम बनाउन खोजेको देखाउँछ। यस्ता मनोविज्ञान बोकेकाले खेमराज पौडेलको सन्देशलाई मनन गर्न जरुरी छ।
निश्चय नै हरेक राजनीतिज्ञका सपना हुन्छन्। निर्वाचित भएर तोकिएको नियममा बसेर काम गर्ने अनि आफ्नो राजनीति उचाई अझ बढाउने चाहना हुन्छ। पञ्चायकालदेखि नै राजनीतिमा लागेका पौडेलमा पनि सपना थिए नै। उपनिर्वाचनमा प्रतिद्वन्द्वीको विजयले उनको सपनामा तगारो लाग्यो। तर लोकतान्त्रिक विधिको परिणामलाई सहर्ष स्वीकार गरे।
कहिलेकाहीँ जनताले उचित निर्णय नगर्लान्, तर पनि जनताको निर्णय सर्वाेपरी हुन्छ भनेर स्वीकार गर्नुपर्छ राजनीतिज्ञले। पौडेल जनताको निर्णयमा संयम प्रदर्शन गर्न सफल भए।
कहिलेकाहीँ जनताले उचित निर्णय नगर्लान्, तर पनि जनताको निर्णय सर्वाेपरी हुन्छ भनेर स्वीकार गर्नुपर्छ राजनीतिज्ञले। पौडेल जनताको निर्णयमा संयम प्रदर्शन गर्न सफल भए। बरु आफूलाई बौद्धिक ठान्ने र राजनीतिमा नैतिकमा भित्र्याउनु पर्छ भनेर नयाँ दल खोलेका नेताको मनोविज्ञान नराम्ररी बिथोलिएको देखियो। तिनले निर्वाचन परिणामले पुनः भ्रष्टाचार र बेथितिलाई अनुमोदन गरेको छ भनी मतदाताको विवेकमाथि प्रश्न उठाए। वैकल्पिक शक्ति हो भन्नेले यसरी आफ्नै विवेकको धोती खुस्काएका थिए। तर पौडेल स्वयंले हारको पीडा कतै छचल्काएनन्। विजय भएका आफ्नै प्रतिद्वन्द्वीलाई बधाई दिए।
हुन त पछिल्लो समय विजयी भएकालाई बधाई तथा शुभकामना दिने असल राजनीतिक संस्कार विकास हुँदै गएको छ। त्यो आफैंमा राम्रो पनि हो। हारको पीडा पौडेलमा पनि अवश्य थियो। त्यो पीडामा उनले मतदाताको विवेकमाथि प्रश्न उठाएनन्। प्रतिद्वन्द्वीमाथि कुनै लाञ्छना पनि लगाएनन्।
आभार प्रकट गर्ने क्रममा सामाजिक सञ्जालमा भावुक स्टाटस मात्र लेखे- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन।
पौडेलले चटक्कै राजनीति छोड्ने छैनन्। कसैले पनि राजनीति चटक्कै छोड्नुपर्छ भन्ने पनि होइन। राजनीतिमात्र होइन, कुनै पनि क्षेत्रमा हासिल गरेको अनुभव र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ। त्यसको लागि कुनै पनि व्यक्ति आफ्नो क्षेत्रमा सक्रिय रहनु राम्रो हो। तर कुन रुपमा र कसरी भने महत्वपूर्ण हुन्छ। एक समयसम्म व्यक्तिको कुनै पनि क्षेत्रमा हुने संलग्नता आफ्नो प्रतिष्ठाको लागि पनि हुन्छ। तर प्रतिष्ठाको निम्ति सधैं ठाउँ ओगट्ने काम गर्नु चाहिँ हुँदैन।
अर्काेतिर आर्जित अनुभव र ज्ञान नयाँ पुस्ता र समाजको लागि दिन चाहिँ तत्पर रहनुपर्छ। त्यसको लागि नयाँ पुस्ताको लागि अगाडि जाने बाटो बन्द नगरी आफ्नो ज्ञान, सिपको प्रयोग गर्नुपर्छ। समाजले आवश्यकता ठानेमा आफ्नो अनुभव र ज्ञानको आधारमा योगदान गर्न सधैं तयार रहनुपर्छ। यो सबै राजनीतिज्ञ वा कुनै पनि पेसामा आवद्ध व्यक्तिले अबलम्वन गर्नुपर्ने संस्कार हो। यही संस्कार सिकाएर गएका छन् खेमराज पौडेल।
आफूलाई योग्य ठान्दै खेमराज पौडेल बुढ्यौलीमा पनि जोसका साथ निर्वाचनमा होमिए। सदाकालका लागि आफूमात्र योग्य छु भन्ने दलिल पेस गरेनन्। चुनाव हार्दै गर्दा राजनीतिक शुद्धीकरणको गतिलो सन्देश दिएर गएका छन् पौडेल। यद्यपि नेपालको राजनीतिक परिवेशमा यो सन्देशको आत्मसात हुन वर्षौं लाग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।