काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले युएस बंगला विमान दुर्घटना भएको खुलेको छ।
क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन। जहाजको अवतरण असाधारण देखिएपछि प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो। युएस बङ्गला विमान दुर्घटनामा हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।