ओस्लो– नर्वेमा हरेक १० जना गर्भवती महिलामध्ये ८ जनामा आयोडिनको अत्यधिक मात्रामा कमी रहने गरेको अनुसन्धानले बताएको नर्वेको अफनपोस्टन पत्रिकाले सोमबार जनाएको छ।
आयोडिनको कमी भएका गर्भवती महिलाबाट जन्मेका बालबालिकामा पनि आयोडिनको कमी हुने र उनीहरूले लेख्न र पढ्न कठिन हुने गर्छ।
शरीरमा चाहिने आयोडिनको आवश्यकताबारे नागरिकमा प्रशस्त जानकारी नहुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
‘खानपानको अवस्था राम्रो भएजस्तो लाग्नसक्छ तर हाम्रो अध्ययनले गर्भवती तथा स्तनपान गराउने नर्वेली महिलामा आयोडिनको कमी भएको देखाएको छ।’, ओस्लो मेट्रोपोलिटन यूनिभर्सिटीका अनुसन्धानकर्ता सिगरन हेन्जमले भने। हेन्जमको टोलीले गर्भवती तथा स्तनपान गराउने महिलामा आयोडिनको मात्राका बारेमा सन् २०१६ मा अध्ययन शुरु गरेको थियो।
‘यो एकदम चिन्ताजनक छ सरकारले यस विषयमा थप ध्यान पुर्याउन जरूरी छ’, उनले भने।
ओस्लो र आकेरशस क्षेत्रका १ सय ७५ जना स्तनपान गराउने महिला र ८ सय गर्भवती महिलामा अध्ययन गरि उक्त तथ्य बाहिर आएको हो । ‘आयोडिन गर्भमा रहँदा भ्रुण तथा जन्मपछि बालबालिकामा मस्तिस्क बढ्न र विकास हुन चाहिने थाइराइड हर्मोनको उत्पादनका लागि आवश्यक खनिज हो। शरीरमा प्रशस्त आयोडिनको उपस्थितिले मस्तिस्कको आवश्यक विकासमा मद्दत पुग्ने गर्छ,’ हेन्जम बताउँछन्।
विगत १० वर्षमा गरिएका कैयौँ अध्ययनले आयोडिनकोे कमी भएका महिलाबाट जन्मेका वा त्यस्ता महिलाले स्तनपान गराउने नाबालकमा पढ्ने र लेख्ने क्षमतामा कमी पाइने गरेको उनले जानकारी दिए।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले स्तनपान गर्ने तथा गर्भवती महिला दुवैले प्रतिदिन २ सय ५० मिलिग्राम आयोडिन खानामार्फत लिनुपर्ने सिफारिस गरेको छ। तर नर्वेले यो निर्देशनलाई पालना नगर्ने गरेको बताइन्छ।
‘नर्वेका प्रायः नागरिकले परम्परागतरूपमा प्रशस्त माछा खाने र प्रशस्त दुध खाने गर्छन्। उनीहरूका लागि यि नै मुख्य दुई आयोडिनका स्रोत हुन्,’ खाद्य सुरक्षाका लागि नर्वेली वैज्ञानिक समितिका सदस्य हेन्जमले भने,‘पछिल्लो समय यहाँका मानिसको खानपानमा माछा र दुधको कमी हुने गरेको र यसको प्रभाव गर्भवती तथा नवजात शिशुमा आयोडिनको कमी हुने गरेको छ।’ रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।