पाँचथर- नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उनको चर्चा चुलिएको छ। यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई ८ सय ६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ गाउँपालिका अध्यक्ष चुनिएका थिए। नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका कुरुम्बाङ एक उद्योगीसमेत हुन्। तर उनको संघर्षशील विगत भने निकै दुःखद छ।
विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा जन्मिएका कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्। विसं २०५२ मा तत्कालीन नेकपा (एमाले) बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी विसं २०५४ सालमा वडा सदस्यमा निर्वाचित भएका थिए।
वीरबहादुर आफ्नो जीवन बाल्यकालदेखि नै सङ्घर्षबाट अघि बढेको बताउँछन्। ‘वास्तवमा म शून्य अवस्थाको मान्छे थिएँ। न राम्रोसँग पढ्ने अवसर मिल्यो, न त खाने लगाउने अवसर नै’, उनले विगत सम्झँदै भने। उनका सहपाठी रहेका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्छन्, ‘वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी थिए। सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाइसँग कहिल्यै झै-झगडा नगर्ने, साह्रै इमान्दार र निःस्वार्थी प्रकारको मान्छे ।’
घरको जेठो छोरो। बुबा रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता। ग्रामीण विपन्न जीवन। कुरुम्बाङको जीवन सङ्घर्षको मैदानमा पौँठेजोरी खेलेरै अघि बढिरहनुपर्ने थियो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सकेनन्। चलाख मानिस भएका कारण सधैँ नयाँनयाँ कुराको खोजी गरे। विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव भएका उनले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ सोच्न थाले।
दुई वर्ष भारी बोकेर जीवन चलाए उनले। ‘२०४० आसपासमा मोरङको मधुमल्ला र झापाको दमकबाट मट्टितेल बोकेर ल्याउथें। पाँचथरको घुर्विसेपञ्चमी, नवमीडाँडा र यासोकमा मट्टितेल बेच्थें । यहाँ हाटबजार लाग्थ्यो। अनि दुई/चार पैसा आम्दानी गरेर परिवार चलाउथें,’, कुरुम्बाङले आफ्नो विगत सम्झँदै भने। यसरी भारी बोकेर दुई वर्ष बिताए। त्यसपछि उनले व्यापार, व्यवसायमा हात हाले। १० दश वर्षभन्दा बढी समय खसी, गोरुलगायत पशुचौपायाको व्यापारमा जीवन बिताए।
पहाडका सबै कुनाकन्दराको दुःख र पीडा सहेर आजको वीरबहादुर बन्न सफल भए। सङ्घर्षको कथा अझै सकिएन। सडक विस्तार हुन थालेपछि उनले ट्र्याक्टर किनेर चलाए। अरू व्यापार व्यवसायबाट आम्दानी गर्दै विसं २०५७ सालमा ट्रक किने। केही समय ट्याक्सी पनि चलाए। ‘मैले धेरै दुःख गरेर आर्थिक अवस्था उठाएपछि सबै कामको अनुभव लिनुपर्छ जीवनमा भन्ने सोचले सकेसम्म र भ्याएसम्म सबै काम गरें,’ कुरुम्बाङले आफ्नो सङ्घर्षपूर्ण जीवन सम्झँदै भने।
यसपछि उनले काठको गोलियाको व्यापार थाले। त्यसबाट आर्थिक अवस्था सुधार गरेपछि उनले झापामा भेनियर उद्योग स्थापना गरे। बुबालाई सघाउन छोराहरु पनि सक्षम भइसकेका थिए। उनकी श्रीमती रणमायाले गाउँमा व्यापार चलाउथिन्। परिवारको अर्को यात्रा सुरु भयो प्लाइउडको उद्योग स्थापना गरेर। यही उद्योगले कुरुम्बाङ परिवारलाई उद्योगी बनायो।
जहाँ पुगे पनि र जे गरे पनि उनले मुलुकको परिवर्तन र आफूजस्तै शून्यबाट उठेका र शून्यमा रहेका निमुखाको पक्षमा बोल्न छाडेका थिएनन्। गाउँ कमिटीबाट उठ्दै गएको कुरुम्बाङको यात्रा तत्कालीन नेकपा (एमाले) को जिल्ला सचिवालय सदस्य र हालको नेकपाको जिल्ला सचिवालय सदस्यमा पुगेको छ।
स्थानीय तहको पहिलो निर्वाचनमा आफू पहिलो हुन नसकेको स्वीकार्दै पराजित भएर पनि गाउँपालिकाको विकासमा कहिल्यै पछि नसरेको उनी बताउँछन्। गाउँपालिकामा आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्नुमा अघिल्लोपटक पराजित भएपछि झन् सक्रियताका साथ खट्नुलाई खास कारण ठान्छन्। कुरुम्बाङ विकास योजनाको फाइल लिएर ‘गाउँपालिकाका जनताले पानी खान पाएनन्, बिजुली पाएनन्, सडक पुगेन’ भनेर प्रदेश राजधानी विराटनगर र काठमाडौं धाएका थिए।
उनले निर्वाचनका क्रममा सबैलाई मिलाएर लैजाने बताउँदै आएका छन्। भ्रष्टाचार, बेथिति, विकास निर्माण र सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य गर्ने उनको प्रतिबद्धता छ। स्थानीयबासीको आयआर्जन वृद्धि, गरिबी निवारण, सहज एवं उत्तरदायी सेवा प्रवाह र पूर्वाधार निर्माणमा विशेष जोड दिने कुरुम्बाङको योजना छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।