काठमाडौं– नेपालले आज उमेरसमूहका दुई फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । दुवै खेल नेपालका लागि महत्वपूर्ण छ।
एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह डीको छनोट खेलमा नेपालले हल्चोक मैदानमा भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल अपराह्न साढे ३ बजे हुनेछ । आजै नेपाल साफ यू–१८ च्याम्पियनसिप अन्तगर्गत माल्दिभ्ससँग भिड्दै छ । खेल थिम्पुको चाङलिमिथाङ रंगशालामा अपराह्न पौने ४ बजे हुनेछ।
एएफसी यू–१६ च्याम्पियनसिपको पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको नेपालका लागि छनोट हुन आज भारतविरुद्धको खेल महत्वपूर्ण छ । भारतसँग हार ब्यहोरेको खन्डमा नेपालको छनोट हुने सम्भावना सकिनेछ।
यू–१६ नेपाली टिमका प्रशिक्षक सुनील श्रेष्ठले भारतलार्इ हराएर छनोट सम्भावना बाँकी राख्ने दाबी गरे । उनले भारतविरुद्ध आक्रमक खेलेर गोल गर्ने बताए । एक महिनाअघि नेपालमै भएको साफ यू–१६ च्याम्पियनसिपमा नेपाललाई भारतले समूह चरण तथा फाइनलमा गरी दुई पटक पराजित गरेको थियो । भारतसँग लगातार दुई खेलमा हार बेहोरेकाले नेपाल दबाबमा छ । तर, प्रशिक्षक श्रेष्ठ तेस्रो खेलमा गल्ती सुधार गरेर जित निकाल्ने बताउँछन्।
चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ । राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ।
थिम्पुमा हुने यू–१८ च्याम्पियनसिपको खेल पनि नेपालका लागि महत्वपूर्ण छ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले हार ब्यहोरेको नेपालले उपाधि रक्षा गर्न आज माल्दिभ्समाथि जित निकाल्नैपर्ने दबाव छ । लगातार दुई खेलमा हार व्यहोरिसकेको माल्दिभ्स अंक तालिकाको पुछारमा छ । तेस्रो खेलमा पनि हार बेहोरे माल्दिभ्सको उपाधि जित्ने सम्भावना सकिनेछ।
आजै भारत र भुटानबीच प्रतिस्पर्धा हुँदै छ । भुटान र बंगलादेशले लगातार २ खेलमा जित निकालेका छन् । भारत बंगलादेशसँग पराजित भएको थियो । ५ टिमबीच राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा हुँदै छ । बढी अंक बटुलेर शीर्ष स्थानमा रहने टिमलाई विजेता घोषणा गरिनेछ । नेपाल प्रतियोगिताको साविक विजेता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।