जलालावाद– अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि ७ जना सर्वसाधारणको हत्या गरेका छन्। अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ।
नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारी अनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित ७ जनाको हत्या गरेका हुन्।
१५ तालिबान लडाकु मारिए
अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकु मारिएका छन्। त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जनाइएको छ।
अमेरिकी सेनाको हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेलमान्ड प्रान्तको नाहरी सर्राजमा ती लडाकु मारिएका बताइएको छ।
त्यसैगरी सोही प्रान्तको छिमेकी ग्रेस्क जिल्लामा गएको शुक्रबार पनि तालिबानका विरुद्धमा कारबाही भएको र त्यसमा परी १४ जनाको मृत्यु भएको थियो। रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार सो क्षेत्रमा केही दिनयता निरन्तर रुपमा कारबाही जारी रहेको छ।
गत वर्ष मात्र ३ हजार ४ सय ३० को मृत्यु
तालिबानहरुको हिंसाका कारण गएको वर्ष अर्थात सन् २०१७ मा मात्र कम्तीमा ३ हजार ४ सय ३० जनाको ज्यान गएको छ। गत वर्ष भएका कारबाहीका क्रममा ७ हजार जनाभन्दा बढी घाइते भएका छन्।
मारिनेमा ६५ प्रतिशत गैरसैनिक नागरिक र बढीमा २० प्रतिशत सुरक्षाकर्मी रहेका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।