बाजुरा– युएन हेविट्याटले बाजुराको एक स्थानीय तहमा कर्मचारी भर्नामा मनोमानी गरेको भन्दै पाँच वडामा रोक लगाउने बताइएको छ। बडिमालिका नगरपालिकाका लागि सहजकर्ता छनोट गर्दा राजनीतिक आस्थालाई हेरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध पाँच वडाअध्यक्षले कार्यक्रम गर्न नदिने बताएका हुन्।
संस्थाले यस वर्षदेखि जिल्लाको बडिमालिका र बुढीगंगा नगरपालिकामा पूर्ण सरसफाइ तथा स्वच्छता अभियानमा कार्यक्रम सञ्चालन सम्झौता गरेको छ । कार्यक्रम सञ्चालनका नाममा नेपाली कांग्रेस निकट कार्यकर्ता भर्ति गर्न खोजेको आरोप लगाउँदै पाँच वडाअध्यक्षले कार्यक्रम वहिष्कार गर्ने घोषणा गरेका हुन्।
उक्त कार्यक्रमका लागि नगरपालिकाले लिएको परीक्षामा सहभागी नभएकालाई वैकल्पिकमा राखेको, अन्तर्वार्ता सकिएपछि आफू निकट व्यक्तिलाई पुन: बोलाएर नियुक्ति दिएको जस्ता आरोप वडाध्यक्षहरुले लगाएका छन्।
बडिमालिका नगरपालिका वडा २, ३, ४, ७ र ९ का वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थालाई काम गर्न नदिने उल्लेख गरेका छन्।
वडाअध्यक्षहरु डम्मर महत, वीरबहादुर रावल, धर्मराज पाध्याय, सुरेन्द्र नाथ र विनोद कुमार विकले कार्यक्रम रोक्ने बताउँदै अनियमितताका विषयमा जानकारी गराउन प्रेस विज्ञप्ति जारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।