गोरखा- मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ।
गोरखामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। दुई क्षेत्रमा दुई–दुई वटा गरी चार प्रदेश निर्वाचन क्षेत्र छ। त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ। गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ।
यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ।
प्रतिनिधिसभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ।
क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ नेताहरु कमला नहर्की, विवश चिन्तन, बन्दना पाण्डे र समानुपातिकतर्फ रामबहादुर ढकाल, कञ्चन कुमाल र धना तमु छन्। क्षेत्र नं २ को प्रदेशसभा–२ का लागि प्रत्यक्षतर्फ नेताहरु अमर तमु, दीपक देवकोटा, भगवती तिवारी र समानुपातिकतर्फ नरबहादुर गुरुङ, मुक्ति विक, अनिता भुजेल, पूर्णकुमारी कँडेलको नाम प्रस्ताव गरिएको छ।
प्रदेशले यी नाम हेरेपछि केन्द्रमा पठाउने र केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने जिल्ला इन्चार्ज चूडामणि खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।