लन्डन– स्पेनिस फरवार्ड डिएगो कोस्टाले चेल्सी छाड्ने भएका छन्। कोस्टा पुरानै क्लब एट्लेटिको म्याड्रिड फर्कने भएका हुन्।
चेल्सी र एट्लेटिकोबीच कोस्टाको विषयमा सहमति भएको हो। दुई क्लबबीच पूर्ण सहमति भएपनि कोस्टासँगको व्यक्तिगत सहमति भने हुन बाँकी छ।
एट्लेटिको म्याड्रिडले पनि कोस्टाको केही दिनमै मेडिकल हुने पुष्टि गरेका छ। कोस्टा सन् २०१४ मा एट्लेटिकोबाट चेल्सीमा आबद्ध भएका थिए।
कोस्टाले यो सिजनमा चेल्सीबाट एक खेल पनि खेलका छैनन्। अघिल्लो सिजन प्रशिक्षक एन्टोनियो कोन्टेसँग विवाद बढेपछि कोस्टा टिमको पहिलो रोजाइमा पर्न असफल हुँदै आएका थिए। ट्रान्स्फर विन्डो चलिरहँदा कोस्टाले आफ्नो जन्मभूमि ब्राजिलमा बढी समय बिताएका थिए। जसले गर्दाको सिजनमा सम्झौता हुन सकेन।
ब्राजिलमा जन्मिएका कोस्टा अन्तर्राष्ट्रिय खेल भने स्पेनबाट खेल्दै आइरहेका छन्। कोस्टा सन् २०१४ मा ३ करोड २० लाख पाउन्डमा एट्लेटिकोबाट चेल्सी आएका थिए। तीन सिजनमा कोस्टाले चेल्सीबाट १ सय २० खेलमा ५८ गोल गरेका छन्। अघिल्लो सिजनमा चेल्सीले प्रिमियर लिगको उपाधि जित्दा कोस्टाले २० गोल गरेका थिए।
फिटनेसका कारण प्रशिक्षक कोन्टेले कोस्टालाई टिममा राखेका थिएनन्। त्यसपछि कोन्टे र कोस्टाबीच विवाद बढेको थियो। विवादपछि कोस्टाले चेल्सी छाड्न चाहेका थिए। यो बीचमा कोस्टा चीन जाने हल्ला समेत चल्यो। तर उनलाई बेच्न चेल्सीले खासै चासो देखाएन।
प्रशिक्षक तथा चेल्सी व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोस्टाले आफूमाथि अपराधीको जस्तो व्यवहार भएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।