कोलकाता–अस्ट्रेलियाविरुद्ध पाँच एकदिवसीय सिरिजमा भारतले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार राति सम्पन्न दोस्रो एकदिवसीय खेलमा भारतले अस्ट्रेलियालाई ५० रनले पराजित गरेको हो।
कुलदीप यादवले ह्याट्रिक गरेपछि भारतले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.१ ओभरमा २ सय २ रनमै अलआउट भयो। कुलदीपले अस्ट्रेलियाका विकेटकिपर म्याथ्यु वेड, अस्टन अगर र पाट कुमिङलाई लगातार आउट गरे। उनले ३३औं ओभरको दोस्रो बलदेखि लगातार ३ विकेट लिएका थिए। कुलदीप भारतका लागि एकदिवसीय क्रिकेटमा ह्याट्रिक गर्ने तेस्रा बलर बने। यसअघि चेतन शर्मा र कपिल देवले एकदिवसीय खेलमा ह्याट्रिक गरे।
कुलदीपसँगै भुवनेश्वर कुमारले पनि ३ विकेट नै लिए। हार्दिक पान्ड्या र युजभेन्द्र चाहलले समान २–२ विकेट लिए। अस्ट्रेलियाको लागि मार्कोस स्टोइनिसले नटआउट ६२ तथा कप्तान स्टेभिन स्मिथले ५९ रनको योगदान दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ५० ओभरमा २ सय ५२ रनमा अलआउट भयो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ९२ रन बनाए। कोहली म्यान अफ दि म्याच समेत घोषित भए। यस्तै ओपनर अजिन्का राहाणेले ५५ तथा केदार जादवले २४ रन बटुले।
बलिङतर्फ अस्ट्रेलियाका नाथान कलटर निल र केन रिचार्डसनले समान ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।