काठमाडौं– नेपालले शुक्रबार उमेर समूहका दुई फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। दुवै खेल नेपालका लागि महत्वपूर्ण छ।
एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह डीको छनोट खेलमा नेपालले हल्चोक मैदानमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल अपरान्ह साढे ३ बजे हुनेछ। शुक्रबार नै नेपाल साफ यू–१८ च्याम्पियनसिप अन्तगर्गत माल्दिभ्ससँग भिड्दैछ। खेल थिम्पुको चाङलिमिथाङ रंगशालामा अपरान्ह पौने ४ बजे हुनेछ।
एएफसी यू–१६ च्याम्पियनसिपको पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको नेपालका लागि छनोट हुन शुक्रबार भारतविरुद्धको खेल महत्वपूर्ण छ। भारतसँग हार ब्यहोरेको खन्डमा नेपालको छनोट हुने सम्भवाना सकिनेछ।
यू–१६ नेपाली टिमका प्रशिक्षक सुनील श्रेष्ठले भारतलार्इ हराएर छनोट सम्भावना बाँकी राख्ने दाबी गरे। उनले भारतविरुद्ध आक्रमक खेलेर गोल गर्ने बताए। एक महिनाअघि नेपालमै भएको साफ यू–१६ च्याम्पियनसिपमा नेपाललाई भारतले समूह चरण तथा फाइनलमा गरी दुई पटक पराजित गरेको थियो। भारतसँ लगातार दुई खेलमा हार ब्यहोरेकाले नेपाल दबाबमा छ। तर, प्रशिक्षक श्रेष्ठ तेस्रो खेलमा गल्ती सुधार गरेर जित निकाल्ने बताउँछन्।
चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ। राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको सम्भावना हुनेछ।
थिम्पुमा हुने यू–१८ च्याम्पियनसिपको खेल पनि नेपालका लागि महत्वपूर्ण छ। पहिलो खेलमा आयोजक भुटानसँग १–० ले हार ब्यहोरेको नेपालले उपाधि रक्षा गर्न शुक्रबार माल्दिभ्समाथि जित निकाल्नै पर्ने दबाब छ। लगातार दुई खेलमा हार व्यहोरिसकेको माल्दिभ्स अंक तालिकाको पुछारमा छ। तेस्रो खेलमा पनि हार ब्यहोरे माल्दिभ्सको उपाधि जित्ने सम्भावना सकिनेछ।
शुक्रबार नै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ। भुटान र बंगलादेशले लागतार २ खेलमा जित निकालेका छन्। भारत बंगलादेशसँग पराजित भएको थियो। ५ टिमबीच राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा हुँदैछ। बढी अंक बटुलेर शीर्ष स्थानमा रहने टिमलाई विजेता घोषणा गरिनेछ। नेपाल प्रतियोगिताको साविक विजेता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।