काठमाडौंको बसुन्धरामा खुल्यो नेचुरोपेथी अस्पताल 

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 ११:४१:०० मा प्रकाशित

काठमाडौं–  बसुन्धरास्थित काठमाडौं नेचुरोपेथी अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गणेश पाण्डेद्वारा सञ्चालित  अस्तालकोआइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले औपचारिक उद्घाटन गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्ने विश्वास व्यक्त गरे । ‘अस्पतालले सेवाग्राहीसामु जेजति सेवा उपलब्ध गराउने कबुल गरेको छ, त्यसमा कुनै कमजोरी नहुने विश्वास छ,’ उपप्रधानमन्त्री पोखरेलले भने।

कार्यक्रममा अस्पतालका अध्यक्ष पाण्डेले अस्पताल सञ्चालनमा रोजगारीको अवसर सिर्जना गर्नु र प्राकृतिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्नु रहेको बताएका छन्। अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति, प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकका माध्यमबाट उपचार गरिने उनले बताए।
अस्पतालले अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष, विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिस्ट, नेचुरल थेरापिस्टलगायतको सुविधा उपलब्ध गराउने बताइएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालको उद्घाटन गर्दै प्राकृतिक चिकित्सा पद्दतीको अस्पतालको कामले निरन्तरता पाउनुपर्ने बताए । अस्पतालका सञ्चालक तथा अध्यक्ष गणेश पाण्डेलाई आफूले ढाड दुखेको बेला स्वास्थ्यलाभको कामना गरेको स्मरण गर्दै पोखरेलले भने, ‘सायद त्यहि अनुभव र महशुश भएर होला बहुमुखी प्रतिभाका धनी गणेशजीले यो अस्पताल सञ्चालन गर्नुभयो।’

अस्पतालको उद्घाटन कार्यक्रममा  प्रदेश सभा सदस्य नारायण सिलवाल र दीपक निरौला, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापति निरञ्जन श्रेष्ठ, पूर्वमन्त्री एवं काँग्रेस नेता रामबहादुर गुरुङ, राप्रपाका नेता हेमजङ गुरुङ, प्रभु बैंकका सिइओ अशोक शेरचन, मेगा बैंककी डुपेटी सिइओ रविना देशराज श्रेष्ठ, मुक्तिनाथ बैंकका सिइओ पद्युमन पोखरेल, रियालबल इन्स्योरेन्सका सिइओ नारायणबाबु लोहनी, चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी, एनआरएनका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, वरिष्ठ लोकगायक बद्री पंगेनीलगायत उपस्थित थिए।

पाण्डेले अस्पताललाई आफ्नो सपनाका रुपमा लिएका छन्। चुनौतीपूर्ण काममा आफूलाई आनन्द बताउँदै यो क्षेत्रमा सक्रिय भएको बताए। उनले भने, 'जीवन हो, चुनौती नझेली  सफलता कहाँ मिल्छ र !'