सिड्नीमा नेपथ्यसँग झुम्ने भए दर्शक

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 १५:१५:०० मा प्रकाशित

काठमाडौं- ‘नेपाल टच’को आयोजनामा नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन्। ‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेसन हो।

डिसेम्बर १४ तारिख अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ। उक्त हलमा ३ हजार दर्शक अट्नेछन्।

नेपाली टचले नेपाली समुदायलाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ।

यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थी र दर्शकहरूलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ। अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ।