काठमाडौं– ओपनर ज्ञानेन्द्र मल्लले सतक बनाएपछि भारत भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार चेन्नइमा भएको दोस्रो अभ्यास खेलमा नेपालले मेलापुर रिक्रिएसन क्लबलाई ५२ रनले पराजित गरेको हो।
नेपालले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको मेलापुरले निर्धारित ५० ओभर पूरै खेलेर ८ विकेटको क्षतिमा १ सय ९९ रन जोड्यो । मेलापुरलाई कम स्कोरमा रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी, सागर पुन र सुसन भारीले समान २–२ विकेट लिए । एक विकेट सन्दीप लामिछानेले हात पारे।
मेलापुरका लागि सुदन सञ्जीवले ३७ रनको योगदान गरे । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट बनाए । यस्तै, मोहमद आसिफले ५४ बल खेलेर ३३ रन बटुले । एभीआर रथना ३५ रनमा अविजित रहे।
त्यसअघि चेन्नइको एसआरएम युनिभर्सिटी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५१ रन जोड्यो । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले सतक प्रहार गरे । रिटायर्ट आउट हुनुअघि ज्ञानेन्द्रले १ सय २३ बलमा १३ चौका र एक छक्काको मद्दतमा सय रन जोडेका थिए । अर्का ओपनर सागर पुनले २५ रनको योगदान गरे।
सरद भेषावकरले ४८ रनको योगदान गरे । भेषावकरले ७३ बल खेल्दा ३ चौका प्रहार गरे । कप्तान पारस खड्काले १० बलमा ३ छक्का हिर्काएउँदै २२ रन बटुले । दीपेन्द्रसिंह ऐरी ३ तथा विनोद भण्डारी शून्य रनमा पेभेलियन फर्किए । करण केसीले १० बल खेलेर १ चौका र २ छक्काको मद्दतमा २० रन बटुले । आरिफ शेख ६ तथा सोमपाल कामी १६ रनमा अविजित रहे । सोमपालले ६ बलको सामना गर्दा १ छक्का प्रहार गरे । बलिङतर्फ मेलापुरका गनेश मुर्ती, एभीआर रथनाम र एन हरिसले समान २–२ विकेट लिन सफल भए।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रनले पराजित गरेको थियो । खेलमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले नेपालका लागि सर्वाधिक ६६ रन जोड्दा २ विकेट पनि लिएका थिए । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डिगुल ३५.३ ओभरमा ६३ रनमा अलआउट भएको थियो।
नेपाल टिम विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध खेलको तयारीका भारत भ्रमणमा गएको हो । अब नेपालले दुई अभ्यास खेल खेल्न बाँकी छ । नेपाली टिम दशैंको फूलपातीमा नेपाल फर्कनेछ । दशैंपछि दस दिन अभ्यास गरेपछि नेपाली टिम हङकङ प्रस्थान गर्नेछ।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ । डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।