काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को स्थानीय तह निर्वाचनमा नतिजा कमजोर हुनुका ४ कारण औँल्याएको छ। टिकट बाँडफाँटमा असन्तुलन, अन्तरघात, चुनावी तयारीको कमी र संविधान संशोधन असफल हुनुको कारण जनतालाई बुझाउन नसक्नु हारको मुख्य कारण रहेको राजपाका नेताहरुले बताएका छन्। यद्यपी मधेसमा राजपाप्रति जनताको सद्भभाव बढेको पाइएकाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी उत्साहित भएको नेताहरुको प्रतिक्रिया छ।
राजपाले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्ने जिम्मा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको समितिलाई दिएको थियो। तर, राजपा गठन हुनुअघिका ६ पार्टीमा रहेका स्थानीय नेताले उम्मेदवारीमा दावेदारी प्रस्तुत गरेका थिए।
टिकट वितरणमा विवाद भएपछि राजापाले भदौ २१ गते मात्रै उम्मेदवारको अन्तिम सूची तयार गरी निर्वाचन आयोगमा पठाएको थियो। '६ वटा पार्टी मिलेर राजपा बनेको हो, आकांक्षी धेरै हुँदा आन्तरिक सन्तुलन मिलाउन नसकेर हाम्रो नतिजामा असर गर्यो ,' नेता सर्वेन्द्रनाथ शुक्लाले भने।
राजपाले चुनावी तयारिका लागि समेत समय नपुगेको बताएको छ। उम्मेदवारको नामावली अन्तिम समयमा बुझाउँदा प्रचारप्रसारमा समय नपुगेको नेताहरुले बताएका छन्। शीर्ष नेताहरु निर्वाचनको अन्तिम समयसम्म मधेसमा नझर्दा पनि राजापका उम्मेदवारलाई नोक्सान पुगेको नेताहरुको भनाइ छ। निर्वाचन आयोगले प्रचारप्रसारका लागि १० दिनको समय उपलब्ध गराएको थियो, त्यो समयमा राजपाका शीर्ष नेताहरु मधेस झरेकै थिएनन्।
'हाम्रा उम्मेदवारले पर्याप्त चुनाव प्रचारप्रसार गर्न पाएनन्। शीर्ष नेताहरु समेत प्रचारप्रसारमा त्यति सक्रिए हुनुभएन। राजपाको हारमा राजपा स्वयंम जिम्मेवार छ,' नेता सरतसिंह भण्डारीले भने, 'टिकट नपाएपछि साथीहरुले आक्रोश व्यक्त गर्दै अन्तरघात समेत गरेका छन्। कार्यकर्तामा राजापा भन्दा पनि पहिलेकै पार्टीको धङधङी देखियो।'
भण्डारीले संविधान संशोधन कसरी असफल भयो भन्ने विषय जनतालाई बुझाउन नसक्दा पनि असर परेको बताए। 'मधेश आन्दोलनको नेतृत्व गरेको दलले मधेसका मुद्दा सम्बोधन नगरी चुनावमा आएको जनतामा भ्रम थियो, त्यो हामीले चिर्न सकेनौँ। कसका कारण संविधान संशोधन असफल भयो भन्ने कुरा बुझाउन सकिएन।'
राजपाले प्रदेश २ का तीन उपमहानगरपालिका र एकमात्र महानगरपालिका वीरगञ्जलाई प्रतिष्ठाको विषय बनाएको थियो। वीरगञ्ज महानगरपालिकामा राजपाले अग्रता लिए पनि कांग्रेससँग कडा प्रतिस्पर्धा चलिरहेको छ। राजपाले उपमहानगरमध्ये जनकपुरलाई मुख्य प्रतिष्ठा बनाएको छ, जहाँ उसले अग्रता कायम गरिरहेको छ। बाराका जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा भने एमालेको अग्रता छ।
यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणाम अनुसार राजपाले ३ स्थानीय तहमा जित हाँसिल गरेको छ। स्थानीय तहको निर्वाचनमा सहभागी भएपछि राजपाप्रति जनतको सद्भाभाव बढेको नेताहरु बताउँछन्। 'हामीलाई जनताको शुभेच्छा छ, आगामी निर्वाचनमा सहभागी हुन हौसला मिलेको छ,' अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले भने।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रको आन्तरिक एकता मजबुद बनाउँदै कार्यकर्ताको मानसिकता पनि परिवर्तन गर्ने नेताहरुले दाबी गरे। टिकट वितरणमा सन्तुलन कायम गर्दै अन्तरघातको अवस्था नआउने गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गर्ने यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।